Logo
Logo

मेरो हट अवतार सकियो : शुभेच्छा थापा, अभिनेत्री/निर्मात्री


- दृष्टि न्युज/संवाददाता


अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्देशनतिर लागेकी छन् । एक समय ‘बोल्ड अभिनेत्री’रुपमा चर्चामा आएकी शुभेच्छाको अब त्यो बोल्ड अवतार भने दर्शकले देख्न पाउने छैनन् । ‘बोल्ड अभिनेत्री’को संज्ञा पाएपनि शुभेच्छा अभिनीत फिल्म भने खाशै सफलता छैनन् । तर, नाम र दामका लागि आफू सफल भएको उनको भनाइ छ । ‘दर्शकले मलाई हट अभिनेत्री भनेर चिनिनु नै मेरो सफलता हो’ उनी भन्छिन् । अभिनेत्री हुँदै फिल्म निर्मात्री बनेकी शुभेच्छाले पछिल्लो समय निर्देशनलाई प्राथमिकता दिएकी छन् । नेपाली फिल्म ‘लक्ष्मी रानी’बाट निर्देशनमा डेब्यू गरेकी शुभेच्छाले भनिन्, ‘मेरो हट अवतार देख्न नपाएपनि बोल्ड क्रियशन हेर्न पाउनेछन् ।’ फिल्म क्षेत्रमा झण्डै दुई दशक विताइसकेकी शुभेच्छाले आधा दर्जन फिल्म निर्माण गरिसकेकी छन् । आफ्नै प्रोडक्शनमा व्यस्त रहेकी शुभेच्छाको बुझाइमा पछिल्लो केही वर्षयता नेपाली फिल्म एउटै ट्रेण्डमा चलेको छ । त्यो टे«ण्ड परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । हाल नयाँ प्रोजेक्टका लागि स्क्रिप्ट लेखनमा व्यस्त रहेकी शुभेच्छासँग एमपी सुब्बाको जम्काभेट :

कता हराउनुभयो, देखिनु हुन्न त ?

कतै हराएकी छैन । फिल्म क्षेत्रमै छु । कोरोना कहरबीच मैले आफ्नो आफ्नो फिल्म ‘लक्ष्मी रानी’ यु–ट्युबमा रिलिज गरेकी छु । अहिले नयाँ प्रोजेक्टको तयारी गर्दैछु ।

‘लक्ष्मी रानी’ कोरोना संक्रमणकै बेला निर्माण गर्नुभएको हो ?

कोरोना संक्रमण फैलिनुअघि नै निर्माण गरेकी हुँ । तर, यु–ट्युबमा रिलिज भएको थिएन ।

अभिनेत्रीबाट निर्मात्री, अहिले निर्देशन पनि गर्न थाल्नुभयो ?

मैले ६ वटा फिल्म निर्माण गरेँ, त्यसपछि निर्देशन गर्न थालेकी हुँ । अभिनय र निर्माण गर्दै जाँदा निर्देशन पनि गर्न सक्छु भनेर थालेकी हुँ ।

निर्देशनमा दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?

म प्राय सोसियल विषयमा फिल्म बनाउँदै आएकी छु । ‘लक्ष्मी रानी’ पनि सोसियल फिल्म नै हो । सोसल विषयका बनेका फिल्मलाई व्यापारिकरुपमा खाशै लिइँदैन । तर, दर्शक र समाजबाट राम्रो प्रतिक्रिया पाइन्छ । ‘लक्ष्मी रानी’बाट पाएको सकरात्मक प्रतिक्रियाकै उत्साहले अर्को फिल्म निर्देशन गर्न लागेकी छु ।

फिल्म निर्माण, अभिनय र निर्देशन एकैसाथ गाह्रो हुँदैन ?

फिल्म निर्माण गर्नु आफैमा गाह्रो हो । तर, आफूले निर्देशन गरेको फिल्ममा अभिनय गर्दिनँ । फिल्म निर्माण गर्दागर्दै निर्देशनमा लाग्नुको कारण अर्कै छ । फिल्ममा निर्देशनको ठूलो जिम्मेवारी हुन्छ । अरुलाई जिम्मेवारी दिँदा उनीहरुकै मुख हेरेर काम गर्नुपर्ने बाध्यता आइलाग्छ । र, अर्को कुरा मेरो फिल्ममा आफै अभिनय नगरेर नयाँ कलाकारहरुलाई अवसर दिने गरेकी छु ।

अहिलेसम्म कति जनालाई अवसर दिनुभयो ?

थुप्रै भाई बहिनीहरु छन् । जसलाई मैले फिल्ममा डेब्यू गराएकी छु । दुर्गेश थापालाई मैले नै फिल्म ‘मखमली’बाट हिरोमा डेब्यू गरेको हुँ । म आफैँचाहिँ क्यारेक्टर सुहाउँदो भयो भनेमात्र अभिनय गर्छु ।

आफ्नै स्क्रिप्ट, निर्देशन भएपछि सुहाउँदो रोल निकाल्न सकिन्न र ?

त्यसो भनेर हुँदैन । फिल्मको कथाअनुसार हुन्छ । कुनै पनि कथामा जबरजस्त रोल निकाल्न मिल्दैन । कथावस्तुलाई स्क्रिप्टमा प्ले गर्दै जाँदा मलाई सुहाउँदो र मन पर्ने रोल निस्कियो भने गर्छु ।

एक समय ‘बोल्ड अभिनेत्री’को परिचय बनाउनुभएको थियो । त्यो रुपमा अब दर्शकले हेर्न पाउँछन् कि पाउँदैनन् ?

सायद अब पाउँदैनन् होला । अहिले मलाई त्यो सुहाउँदैन पनि । दर्शकले मेरो हट अवतारमा हेर्न नपाएपनि मेरो हट एण्ड बोल्ड क्रियशन देख्न सक्ने छन् ।

‘बोल्ड अभिनेत्री’को उपमा पाएर पनि तपाइँलाई किन असफल अभिनेत्री भनिन्छ ?

म आफूलाई असफल लाग्दैन । किनकि, मलाई जसरी दर्शकले बोल्ड अभिनेत्री भनेर चिन्नुभएको छ । त्यो नै मेरो सफलता हो । दर्शकबाट जति माया र हौसला पाउनुपर्ने हो, त्यो पाएकी छु । त्यसैले खुसी छु ।

पछिल्लो समय आइरहेका नेपाली फिल्महरुलाई कसरी हेर्नुभएको छ ?

केही वर्षयता नेपाली फिल्म एउटै ट्रेण्डमा चलिरहेको छ । अब पनि ‘लभ स्टोरी’ ट्रेण्डलाई फलो गर्ने हो भने दर्शक वाक्कदिक्क हुनेछन् । त्यसैले अब नेपाली फिल्मको टे«ण्ड परिवर्तन गर्न जरुरी छ ।

तपाइँको आगामी फिल्मचाहिँ कस्तो हुन्छ ?

म पनि आफ्नो टे«ण्ड परिवर्तन गर्दैछु । अहिलेसम्म मैले सोसल फिल्महरु मात्र बनाउँदै आएकी थिएँ । तर अब बन्ने मेरो फिल्म सोसियल लभस्टोरी हुनेछ । जसमा फेमिली ड्रामा मात्र हुँदैन । समाजका लागि पनि सन्देशमूलक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्