Logo
Logo

धर्मको आवरणमा ‘प्रयोगशाला’ बन्दै नेपाल ?


शरद रिजाल

0
Shares


गत वर्ष मुलुकले व्यहोरेको जेनजी विद्रोहको अपूरणीय क्षतिको घाउ सेलाउन नपाउँदै केही दिन यता तराई मधेशमा अर्को अशान्तिको कालो बादल मडारिन पुग्यो । गत साउन १० गते सुनसरीको देवानगन्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको निधन भयो । त्यसको आगो क्षणभरमै धार्मिक सद्भाव खल्बलिने गरी तराई मधेशमा फैलिएर तीन जनाले अकालमै ज्यान गुमाउनु पर्यो भने सार्वजनिक एवं निजी संरचनामाथि आगजनी हुन पुग्यो । चार दिनदेखि धार्मिक एवं साम्प्रदायिक भड्कावले करिब अशान्त रहेको मधेश अहिले भने पूर्ववत अवस्थामा फर्किन थालेको छ ।

सुनसरीबाट सुरु भएको साम्प्रदायिक विद्वेष तराई मधेशका जिल्ला हुँदै देशभर फैलिने खतरा रहेपनि सरकारको प्रयत्नले अहिले परिस्थिति नियन्त्रणमा आएको छ । गृहमन्त्री सुधन गुरुङ यो अवधिभर तराई मधेशमै खटिएर तनावपूर्ण अवस्थालाई साम्य बनाउन उद्यत रहे । उनको सक्रियताले साम्प्रदायिक भडकाव केही समयका लागि साम्य भयो कि उनले गरेको सहमतिले भविष्यमा झन् डरलाग्दो अवस्था सिर्जना गर्ला त्यो भने हेर्न बाँकी नै छ । यद्यपि, मृतकका परिवार र हिन्दुवादी संघसंस्थासँग औपचारिक सहमति गर्न भने उनी आफैँ सरिक भएका थिए ।

मुलुकमा पछिल्लो समय ससाना आन्दोलन हुँदा पनि प्रहरीको गोली चल्ने अवस्था अब सामान्य जस्तै बन्न पुगेको छ । विगतका अनेकौँ प्रतिकूल राजनीतिक व्यवस्थामा समेत गोली नचलाएर परिस्थितिलाई नियन्त्रणमा लिन सक्षम नेपाल प्रहरीले पछिल्लो समय गोली चलाउने कार्यलाई पहिलो प्राथमिकता किन दिँदै छ ? यो प्रहरीकै सुरक्षा चुक हो या राज्यको दमन ? यी अनुत्तरित प्रश्नको सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सुनसरीको देवानगन्ज घटनामा पनि सामान्य विवादमै बत्ती निभाएर गोली चलेको बताइएकाले उक्त घटना रहस्यमय रहेको संकेत गर्दछ ।

पञ्चायतकालदेखि शाही शासनकालमा समेत शान्तिपूर्ण प्रदर्शनमा तत्कालीन सरकारले धरपकड गरे पनि ज्यानै लिनेगरी गोली अन्तिम प्रतिरक्षात्मक अवस्थामा मात्रै चलाउँदै आएका थिए । ४६ सालको जनआन्दोलन होस् या ६२÷६३ को जनआन्दोलनमा पनि गत वर्षको जेनजी विद्रोहको तुलनामा भौतिक एवं मानवीय क्षति निकै कम भएको थियो । तर पछिल्लो समय सुरक्षा निकायको अस्वाभाविक रूपमा गोली प्रहारको श्रृंखलाबद्ध परिघटना सतहमा आएको छ ।

दुई वर्षअघि काठमाडौंको तीनकुनेमा राजावादीको कार्यक्रममा समेत अनावश्यक बल प्रयोग गर्दा परिस्थिति भड्किएर धनजनको क्षति भएको थियो । त्यसक्रममा एक जना फोटो पत्रकारसहित अर्का एक युवाले ज्यान गुमाएका थिए भने सार्वजनिक एवं निजी संरचनामा आगजनी समेत भएको थियो ।

त्यतिबेला पनि नेपाल प्रहरीको सुरक्षा समन्वयको अभावले परिस्थिति भड्किएको समाचार एवं भिडियो फुटेज सार्वजनिक भएको थियो । राजावादीद्वारा आयोजित उक्त विरोध प्रदर्शन कार्यक्रमको मञ्चमै प्रहरीले अश्रुग्याँस प्रहार गरेको दृश्य सार्वजनिक भएको थियो । त्यसपछि आक्रोशित आन्दोलनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए ।

त्यस घटनामा भएको कमी कमजोरीबाट पाठ सिकेर सुरक्षा संयन्त्रलाई भीड नियन्त्रणमा चुस्त बनाउने प्रयत्न तत्कालीन केपी ओली सरकारले गर्नुको साटो राजावादीको कार्यक्रम विफल बनाएकोमा हर्षोल्लास मनाउनतर्फ लाग्यो । र, त्यसकै दुष्परिणाम स्वरूप जेनजी विद्रोहमा सुरक्षा निकायको अक्षमता उजागर भएर अन्ततः सरकार प्रमुख नै ज्यान जोगाउन सेनाको हेलिकप्टरमा भाग्नुपर्ने दुरावस्था निम्तियो ।

जेनजी विद्रोहमा सुरक्षा निकायबीचको समन्वय अभाव र केही प्रायोजित परिस्थितिको कारण मुलुकले निकै ठूलो जनधनको क्षति व्यहोर्दै राजनीतिक कोर्स पनि बदलिन पुगेको छ । अहिलेको परिस्थिति त्यही तीनकुने घटनालाई नजरअन्दाज गर्दाको दुष्परिणाम हो । त्यो घटनामा भएको सुरक्षा निकायको कमजोरी र समन्वय अभावलाई बेलैमा पहिल्याएर समाधान गर्न सकेको भए मुलुकमा जेनजी विद्रोहले विध्वंसात्मक अवस्था सायद निम्तिँदैन थियो होला ।

छिमेकी मुलुक भारतमा कक्रोचको आन्दोलन लामो समय चल्दा पनि त्यहाँ भौतिक एवं मानवीय क्षति नहुनु मजबुद सुरक्षा संयन्त्रको परिणाम हो । सुरक्षा निकायको काम परिस्थितिलाई साम्य पार्न केन्द्रित हुनुपर्छ । सरकार र सुरक्षा निकायबीचको आपसी समन्वय कायम गर्दै विरोध प्रदर्शन सामान्यीकृत गर्नुपर्छ । त्यसका लागि सुरुमा अन्य सुरक्षा विधि अपनाएर पनि भीड नियन्त्रण गर्न सकिने दृष्टान्त हालसालै भारतमा पनि देखिएको छ ।

हाम्रो देशमा भने केही समययता सहजै परिस्थितिमा समेत गोली चलाएर थप भड्काइपूर्ण अवस्था सिर्जना गरेको आरोप प्रहरीमाथि लागेको छ । सामान्य अवस्थामा बल प्रयोगको नाममा गोली चलाएर परिस्थिति झनै आफ्नै निम्ति प्रत्युत्पादक बनाउने काम सुरक्षा निकायबाट हुँदै आएको देखिन्छ । यद्यपि, ती घटना सुरक्षा निकायको असावधानी भएको हो या घुसपैठ, त्यसको निक्र्योल भने अझै हुन सकेको छैन । यसबारे सुरक्षा निकायले गम्भीर अनुसन्धान गरेर यकिन नगर्ने हो भने यस्ता घटना आगामी दिनमा दोहोरिएर झनै प्रतिकूल अवस्था निम्तिन सक्छ ।

भनिन्छ, ‘गाई म¥यो भन्दा पनि गोठमा बाघ पल्कियो’ भने त्यसले सबै सखाप पार्दछ । तत्कालीन ओली सरकारले तीनकुने घटनामा राजावादीमाथि भएको दमनलाई विजयोत्सवका रूपमा लिँदा अन्ततः त्यसको दुष्परिणाम आफूले पनि व्यहोर्नुपर्ने अवस्था आएको थियो ।

उसोत, यसमा भूराजनीतिक प्रभाव समेत नभएको होइन । राजावादी आन्दोलनले उग्र रूप लिन नसक्ने र सबैको सहभागिता नहुने भएपछि जेनजी विद्रोहको प्रारूप तयार पारिएकोमा दुई मत छैन । किनभने, अहिले विकसित घटनाक्रमले त्यसलाई थप पुष्टि गर्दै गइरहेको छ ।
अहिले तराई मधेशमा देखा परेको साम्प्रदायिक कलह पनि आन्तरिक एवं बाह्य शक्ति केन्द्रकै सुनियोजित रणनीतिकै उपज होइन भन्न सकिने अवस्था छैन । गत वर्ष भदौ २३ २४ को जेनजी विद्रोह, फागनु २१को निर्वाचन रास्वपाको बहुमत र बालेन प्रधानमन्त्रीसम्मका परिघटना निकै नाटकीय तवरले विकसित भएको छ ।

यसैबीच, सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र भव्य स्वागत, रास्वपाको विधान संशोधन र रविमाथि अधिकार केन्द्रीकरण, सुधन गुरुङको गृहमन्त्रीमा पुनरागमन र दलाइ लामाको जन्मोत्सव लगायतका परिघटना संयोग मात्रै भएको निष्कर्ष निकाल्नु गलत हुन्छ । यिनै विकसित घटनाक्रमलाई सिलसिलेवार रूपमा आकलन गर्ने हो भने तराईको साम्प्रदायिक विग्रह पनि बाह्य शक्तिले अस्थिरता खडा गरी आफ्नो रणनीतिक मिशनका लागि घटाएको नहोला भन्न सकिन्न ।

मुलुकमा सबै प्रकारका राजनीतिक आन्दोलन लगभग प्रयोग भइसकेका छन् । प्रजातान्त्रिक, लोकतान्त्रिक, वर्गीय, जातीय हुँदै उमेरगत (जेनजी समूह) क्रान्ति या विद्रोह देशले झेलिसकेको छ । विगतमा जातीय विद्रोह गराउन पनि अनेक शक्ति केन्द्रले प्रयत्न नगरेका होइनन् । तथापि, मुलुकको सहिष्णु समाज र मिश्रित जनसंख्याको बनावटले त्यो प्रयत्न पूर्णतया असफल हुन पुग्यो । अब अन्तिम प्रयत्नस्वरुप धार्मिक विग्रह ल्याउने प्रयास भइरहेको छ । यस प्रकारका देशी विदेशी षड्यन्त्रलाई पनि सबै नेपालीको सामूहिक पहल एवं प्रयत्नले विफल तुल्याउनुपर्छ ।

नेपालमा हिंसात्मक आन्दोलनका लागि अब बाँकी रहेको एकमात्रै प्रयोग धार्मिक द्वन्द्व हो । यस अघिका अनेकौँ आवरणका कथित क्रान्ति या विद्रोहमा मुलुकले निकै ठूलो मूल्य चुकाइसकेको छ । तर ती भन्दा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वले निकै खतरनाक र विकराल रूप लिएको विश्वका कैयौँ देश उदाहरणका रूपमा छन् । त्यस्तो द्वन्द्व धार्मिक अन्धताले भरिपूर्ण हुने भएकाले निकै भयावह हुने हुँदा बेलैमा सचेततापूर्वक नियन्त्रण गर्न जरुरी छ ।
सुनसरीको घटनामा गृहमन्त्री घटनास्थलमै पुगेर यसको समाधानमा जुट्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । यद्यपि, त्यसअघि सीमा क्षेत्रमा उनको गोप्य भ्रमण र त्यस लगत्तै भएको साम्प्रदायिक दंगाले के संकेत गर्दछ ?

धार्मिक कट्टरपन्थी एवं धर्मको नाममा व्याप्त अन्धताले मानिसलाई पाशविक बनाउँछ । सायद, त्यही कारण धर्मलाई कार्ल माक्र्सले अफिमको संज्ञा दिएका हुन सक्छन् । मुलुकमा धार्मिक विध्वंस मच्चाएर आफ्नो भूराजनीतिक स्वार्थपूर्ति गर्न धार्मिक अतिवादीको चलखेल पनि अहिले तराईमा सिर्जित साम्प्रदायिक विद्वेष सिर्जना गर्न सक्रिय रहेको हुनसक्छ ।

विडम्बना, मुलुकको कमजोर राज्य संरचनाकै उपज ससाना समूहका आन्दोलनले पनि निकै ठूलो क्षति निम्त्याउँदै आएको छ । मुलुक बलियो बनाउन राज्य संयन्त्र र सुरक्षा निकाय सशक्त बनाउन आवश्यक छ । हरेक आन्दोलनकर्मी भोलिको शासक बन्ने प्रचलनले सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि परिस्थिति नियन्त्रणमा लिने भन्दा पनि आन्दोलनकारीप्रति उदार बनेको देखिन्छ ।

यसले राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रबीच गहिरो खाडल उत्पन्न गराएको छ । यही कमजोरीमाथि अवाञ्छित तत्वले घुसपैठ गरी आन्दोलनकारी र सुरक्षा संयन्त्रबीचको सौहार्दताकलाई दुरुपयोग गरेर परिस्थिति भड्काउन खोजेको पनि हुनसक्छ ।

विगतदेखि नै शासकहरूको सुरक्षा असावधानीले हरेक शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्दै विध्वंस निम्तिएर आफ्नै लागि प्रत्युत्पादक बनेको छ । सत्ता सञ्चालकहरूले यसलाई बेलैमा ध्यान नदिने हो भने आगामी दिनमा सामान्य असन्तुष्टिको झिल्कोले समेत विगतको जस्तै सत्ता राजनीतिमा प्रलय आउने सम्भावना यथावत् छ । त्यसकै पूर्वसंकेत मधेशको साम्प्रदायिक भड्काव भएकाले यसको अन्तरनिहीत कारण बेलैमा पहिल्याएर सरकारले दीर्घकालीन रुपमै सामाजिक एवं धार्मिक विग्रहलाई निरूपण गर्न विलम्ब गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्