Logo
Logo

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी


0
Shares

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । यसका लागि नेपाल सरकारसंगको सहकार्यमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो । 

The current image has no alternative text. The file name is: bp.jpg

चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ । बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन । यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन । यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर ‘बोनम्यारो’  प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिए । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो । 

उहाँका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता पश्चातआवश्यक काम अघि बढ्ने छ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने छ ।  निमित्त कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने चिनियाँ टोलीको तयारी छ । 

चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न करिब ३७ मिलियन चिनिया रकम खर्च गर्दै छ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘बोनम्यारो’  प्रत्यारोपण सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकार र चीनको चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का बीच सम्झौता भइसकेको छ । 

बोनम्यारो युनिट पाँच श्ययाको हुनेछ । उनका अनुसार सुरुमा पुरानो भवनमा युनिट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यो सम्भव नहुने भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन बनाउने ठाउँको माटो परीक्षणलगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् । 

बोनम्यारो युनिटमा काम गर्नका लागि हाल अस्पतालका तीन जना चिकित्सक र नर्स चीनमा तालिम लिईरहेका छन् । निवर्तमान कार्यकारी निर्देशक डा पौडेलले भने “‘बोनम्यारो’ प्रत्यारोपणका लागि यसअघि नै तीन स्वास्थ्यकर्मी जनाले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम लिएर फर्किएका छन् । ”त्यहाँ काम गर्ने जनशक्तिलाई चीन सरकारको तर्फबाट थप आवश्यक तालिम दिइँदै छ । उनीहरुले निर्माण थालेको एक वर्ष छ महिनामा काम सम्पन्न गर्ने तयारी गरेको जनाइएको छ । 

यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने  डा पौडेलको दावी  छ । अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् । यहाँ यो सेवा सुरु भएसँगै कम खर्चमा बिरामीहरूले उच्चस्तरको सेवा पाउने उनी बताउँछन् ।

विसं २०५१ मा चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चिनियाँ चिकित्सकले समेत बिरामीको उपचार गरिरहेका छन् । यहाँ नेपाल सहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्