
चीन छोड्ने बेला लागेको थियो, बरोबर आउने जाने भइरहन्छ होला । तर सोचेजस्तो कहाँ हुन्छ र ! देश फर्केपछि मेरो जीवनले अर्कै मोड लिइसकेको थियो । सपनामा पनि सोचेकी थिइनँ– मपनि पुरै बुहारी वा गृहिणी भएर बस्नु पर्ला कुनै दिन भनेर । तर त्यो जीवनको पनि अनुभव गर्नुपर्ने नै रहेछ । मेरा पुराना निकट साथीहरुमा कोही सभासद भएर सत्ता राजनीतिमा सक्रिय जीवन बिताउन थालेका थिए । अन्य केही साथी भने राजनीतिबाट टाढिएर आ–आफ्नो पेशा, व्यवसाय र घरव्यवहारमा लागिसकेका थिए । कसैको बारे मूल्याङ्कन गर्ने स्थितिमा म थिइन । समयको बहावमा मेरो आफ्नै जीवनले पनि कोल्टे फेर्दै थियो ।
फर्केर केही महिनामा नै दुई सन्तानकी आमा भएँ । संसारमा सबैभन्दा ठूलो काम आमा हुनु नै रहेछ भन्ने कुरा बुझिसकेकै थिएँ । बच्चालाई घरमा छोडेर कतै जागिर खानु वा अर्थोपार्जनको कुनै बाटो खोज्नु सजिलो हुँदैन भन्ने कुरा पनि अब सिक्दै थिएँ । महिला हुनुको महानता र बाध्यताबीचको पातलो रेखालाई दोस्रोपल्ट आमा हुँदा अझ स्पष्ट देख्न थालेकी थिएँ । यो अनुभवले आम महिलाका भिन्न समस्याहरुलाई अझै गहिरिएर बुझ्न पनि सघायो होला । जातीय भेदभावको कुरा त आफैँ पीडित जस्तो नै भएर अनुभव गरेँ । संवेदनशील मान्छेको निम्ति घर र समाज नै ठूलो पाठशाला हुँदोरहेछ । त्यस्तो अप्ठ्यारो समयले झन् धेरै पाठ सिकाउँदो रहेछ । सिक्दै अगाडि बढेँ ।
पैसाको खाँचो बढ्दै गएपछि आफूसँग भएको ज्ञानलाई पनि प्रयोग गर्नु पर्ने कुरामा ध्यान दिन थालेँ । मैले चीनमा चिनियाँ भाषा र साहित्यको अध्ययन गर्ने बेला आफ्नो युनिभर्सिटीभरिमा म एक्ली नेपाली थिएँ । त्यो बेला शाङहाइमा मात्र हैन, चीनमा पढ्ने नेपाली विद्यार्थीहरू सबैजसो नै मेडिसिन, इन्जिनियरिङ्ग जस्ता प्राविधिक बिषय पढ्ने मात्र हुन्थे । मैले विज्ञान पढेकी थिइन । त्यसैले मलाई सुहाउँदो विषय पनि भाषा साहित्य नै थियो ।
मलाई सुहाउने युनिभर्सिटी पनि त्यहीं भएकोले अरु धेरै बिचार गर्नु परेको थिएन। चिनियाँ साहित्य पढ्न विदेशी विद्यार्थीले भाषा पढ्नै पथ्र्यो । ‘क्रान्तिकारी सोँच’का नाममा एकताका औपचारिक पढाइ नै तिलाञ्जलि दिइसकेको मान्छेले चीनियाँ भाषा पढ्न पाउनु पनि ठुलै कुरा थियो । भाषा भनेको विशुद्ध भाषा मात्र हुँदैनथ्यो संस्कृति पनि जोडिएरै आउँथ्यो । जति पढ्दै गएँ उति नै मज्जा आउदै गरेको बेला मेरो कोर्ष सकियो थपिने कुरा आएन । आखिर फर्किनुनै थियो, फक्र्यौं ।
देश फर्केपछि गर्भवती अवस्थामा हिँडेरै अरुका घरमा गएर बच्चाहरुलाई पढाएर पाइने महिनाको एक हजार रुपैंयाले मलाई पुग्ने कुरा भएन । वैकल्पिक उपायहरु पनि खोज्दै थिएँ । असनमा सुमनको प्राइभेट भाषा स्कूल भएको कुरा थाहा पाएँ– निलि (न्यू इन्टरनेशनल ल्याङग्वेज इनस्टिच्युट) । त्यहाँ जापानी, चिनिया आदि विदेशी भाषाको पढाई हुँदोरहेछ । ‘चिनिया भाषा पढाउने भए आउनु’ भने सुमनले । म आफ्नो ठुलो पेट छोपेर जापानी मित्रले किनिदिएको लामो विन्डकोट माथिबाट लगाएर पढाउन गएँ । एक सेशन मात्र पढाएँ हुँला । बच्चा जन्मिने बेला नजिक आइसकेकोले निरन्तरता दिन सकिन । साथीको स्कूल भएकोले भएकोले सजिलो पनि भयो । त्यसप्रति कृतज्ञ पनि छु सुमनसंग ।
चीन जानु अघिदेखि नै मेरो शिक्षण पेशाप्रति लगाव थियो । मेरो मनपर्ने पेशा नै शिक्षण थियो । थरी–थरीका स्कूलहरुमा पढाएको अनुभव पनि थियो । नर्सरीदेखि प्राथमिक स्कूलसम्म, दलितहरुको वस्तीमा भुइँमा सुकुल बिछ्याएको स्कूल देखि प्राइभेट स्कूलसम्म पढाएकी थिएँ । स्कूलमा पढाउँदा होस् वा मजदुर भएर होस् – जहाँ जे काम गर्दा पनि जनचेतनाको माध्यमबाट समाज रूपान्तरणका निम्ति काम गर्दैछु भन्ने नै लागिरह्यो । आमा भइसकेपछि पनि यो भावमै रहिरहेँ । आफ्ना बच्चाहरुप्रति पनि जिम्मेवारी निभाउनु नै थियो । सरोज आफै विरामीको सेवामा समर्पित र नयाँ अस्पताल बनाउने जिम्मेवारी बोकेको कारण र फर्केपछि नि पैसा कमाउने कुरामा उनीबाट धेरै आशा गर्न सकिने अवस्था थिएन । त्यसैले पनि आफूले केही काम गर्नैपर्छ भन्ने लागिरह्यो ।
दोस्रो बच्चा जन्मिसकेपछि फेरि केही समयसम्म पूर्णकालिन आमा बन्नु नै थियो । तर एक बर्ष पुग्दा नपुग्दा फेरि पार्ट–टाइम काम गरेर भए पनि अलिकति पैसा जोगाउनु पर्छ भन्ने लाग्यो । त्यो बेला सम्म मोडेल अस्पताल बन्ने तरखर भइसकेको भए पनि काम नै शुरु भने भइसकेको थिएन । अब त झन् बच्चाको निम्ति समेत सोच्नु पर्ने अवस्था आई सकेको थियो । फेरि सुमनकै भाषा स्कूलमा पार्ट टाइम ज्यालादारी प्रशिक्षकको रुपमा काम गर्न जान थालें ।
बच्चा हेरिदिने कोही थिएन घरमा– सगोलको घरमै बसेको भएपनि । एक घण्टा पढाउन जानलाई बच्चालाई पकनाजोल दिदीको घरमा पु¥याउन जानु पथ्र्यो र फेरि फर्केर उतै खाजा खाएर बच्चा बोक्दै बच्चाको निम्ति समेत आवश्यक सरसामग्री बोकेर घर फर्किन्थें । धन्न त्यो बेला दिदीको छोरी चेतनाको लामो छुट्टीको समय परेको थियो । जस्तोसुकै दुःखको बेलापनि सधैँ साथ दिइरहने दिदी पद्माले आफ्नी बहिनीको निम्ति मात्र हैन, देश समाज र पार्टीको निम्ति पनि धेरै नै योगदान दिनुभएको यथार्थ अहिले यी पंक्तिहरु लेख्दा सम्झिरहेकी छु ।
केही समय पछि बच्चा पनि मोडेल अस्पतालसँगै हुर्किँदै गयो । मेरो मनोबल पनि उठ्दैथियो । त्यो बेलामा कवि मञ्जुल दाइसँग बढि भेटघाट हुनथाल्यो । उहाँ त्यतिबेला विश्वभाषा क्याम्पसमा पढाउनु हुन्थ्यो । उहाँले ‘विश्वभाषा क्याम्पसमा चिनिया भाषाको शिक्षक नभएर क्लास नै बन्द भएको छ । तपाइ पढाउन आउनुस् बहिनी…’ भन्नुभयो ।
दाइको वचन सुनेर म सरासर विश्वभाषा क्याम्पसमा गएँ । त्यतिबेलाको क्याम्पस–चीफ चन्द्र प्रकाश शर्मा हुनुहुन्थ्यो । उहाँले मलाई ‘तपाईं त भगवान भएर आउनु भयो !’ भनेर हार्दिक स्वागत गर्नु भयो र तुरुन्तै नियुक्ति पत्र हातमा थमाइ दिनुभयो । बिहान र साँझ गरी दुइटा कक्षालाई पढाउनु पर्ने भयो । मेरो लागि त्यसबेला त्योभन्दा बढी खुसीको कुरा अरु के हुन्थ्यो र ! मञ्जुल दाइ र चन्द्रप्रकाश सर दुबै प्रति आभारी भएँ ।
त्यो बेला के कारणले हो चिनिया शिक्षकहरु आउन रोकिएको बेला परेको रहेछ । नत्र हरेक दुई वर्षमा उताबाटै प्रशिक्षक पठाउने गरिएको रहेछ । अहिलेसम्म पनि त्यही प्रचलन होला । मैले पढाउन थाल्नु र चीनको विकासमा अझै तीव्रता आउनुका कारण चिनिया भाषा पढ्नेहरुको संख्या ह्वात्तै बढ्न थालेको थियो । नेपालीले नेपालीलाई भाषा सिकाउँदा सजिलो भएर पनि होला, पछि त कक्षा कोठामै नअट्ने गरी विदयार्थीहरु बढ्न थाले … ।














