काठमाडौं । देश विधि र पद्धतिसम्मत ढंगबाट नचल्दा प्रहरी संगठनप्रति आलोचना बढिरहेको छ । खासगरी ‘चेन अफ कमाण्ड’मा चल्नुपर्ने प्रहरी संगठन बालेन प्रधानमन्त्री भएपछि उनको सचिवालय मार्फत चल्न थालेपछि प्रहरीहरु हैरान भएका छन् ।

सचिवालयले दिएका कतिपय सूचना गलत सावित हुँदा प्रहरी संगठनप्रतिको विश्वसनीयता खस्किएको छ । प्रहरीलाई गलत सूचना दिएर परिचालन गर्दा प्रहरी संगठनको मात्र होइन, सरकारकै प्रतिष्ठा र विश्वासमा धक्का लागेको छ । नयाँ सरकार बनेको पाँच महिना लाग्दा निजामति कर्मचारीलाई विश्वास नगरी प्रधानमन्त्री बालेन साहले आफ्नो सचिवालयमार्फत प्रहरी परिचालन गर्दा प्रहरी अप्ठेरोमा परेको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका एक जना सल्लाहकारले गलत सूचना दिँदा प्रहरीको छवि र विश्वसनीयतामाथि धक्का लागेको छ । प्रहरी परिचालनमा स्वकीय सचिवालयले निरन्तर गलत सूचना दिएर सिआइबी र सिंगो प्रहरी संगठनको दुरुपयोग गरिरहेको छ ।
पछिल्लोपटक विराटनगर महानगरपालिका–७ मा रहेको ‘देबेनरा मुन्दडा निवास’मा प्रहरीले छापा मार्दा केही नभेटिएको घटनाले प्रधानमन्त्री साहको सचिवालय सत्य, तथ्यभन्दा पूर्वाग्रहमा आतंक फैलाएको पुष्टि भएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिवालयले दिएको सूचनालाई प्रहरीले प्रमाण नपु¥याई हचुवाको भरमा छापा मार्दा विराटनगर प्रकरणमा प्रहरीले विज्ञप्ति जारी गर्नुप¥यो । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको कमान्डमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरू मुन्दडा निवास र कार्यालयलाई घेरा हालेर खनातलासी गर्दापनि केही भेटिएन । ठूलो अपरेसनजस्तो गरेर प्रहरीको टोली तैनाथी थियो । त्यहाँ ड्रोन लगिएको थियो । त्यहाँ प्रहरीका १० भन्दा बढी गाडीहरू अघिपछि लगाइयो तर केही भेटिएन ।
सूचना प्रमाणीकरण नहुँदै ठुलो संख्यामा प्रहरी टोली जानु, ड्रोनको प्रयोग गर्नु र सडक नै सिल गरेर अपरेसन चलाउनुले प्रहरीमा ठूलै हलचल भएको थियो । प्रधानमन्त्रीको सचिवालयका कारण एक वर्षपछि घर जान लागेका एसपी कटुवाललाई समेत कलंकको टीका लाग्यो ।
यति ठूलो तयारीका साथ प्रहरीले छापा मार्दा पनि त्यहाँ केही पनि फेला नपर्नु प्रहरीको गम्भीर लापरवाही हो । यस घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्नु स्वाभाविक हो । यो घट्नालाई लिएर देशभरका उद्योगी व्यवसायीदेखि सरोकारवालाहरूले उद्योगीको घरमा फेक सूचनाको आधारमा छापा मारेर त्रसित र आतंकित पारिएको भन्दै विरोध गरेका थिए ।
अघिल्लो सातामात्रै काठमाडौँ आएका प्रकाश मुन्दडाले अर्थमन्त्रालयमा पुगेर उच्च अधिकारीहरुसँग भेटघाट गरेका थिए । अर्थमन्त्रालयमा उच्च अधिकारीसँग भेटघाट गरेर निस्केपछि उनी विराटनगर पुगे । विराटनगर पुगेपछि प्रकाश मुदन्डाले अर्थमन्त्री स्वर्णीम वाग्ले भेटेको कुरा बाहिर आयो ।
विराटनगरका व्यापारीहरुको बीचमा यो कुरा पुगेपछि प्रधानमन्त्री साहको सचिवालयमा पनि यो विषयमा छलफल भयो । तर प्रकाश मुन्दडाले अर्थमन्त्रालय पुगेर अर्थमन्त्रीसँग भेट गरे वा हल्ला मात्रै भयो भन्नेचाहि खुल्न सकेको छैन । उनी अर्थमन्त्रालय पुगेको विषय भने सत्य रहेको पत्ता लगाएर प्रधानमन्त्री कार्यालयले मुदन्डाको घरमा छापा मार्न लगाएको बुझिएको छ ।
यसैबीच प्रहरीले भने शतप्रतिशत सूचनामा विश्वास गर्दै ठूलो सफलता हात लाग्ने अनुमान गरेको थियो । प्रधानमन्त्री कार्यालयबाट गृहमन्त्रालय हुँदै प्रहरी प्रमुखमार्फत एसपी कटुवाललाई छापा मार्न निर्देशन आएपछि प्रहरीले पूरै विश्वास गरेको देखिन्छ । त्यतिबेला ५ सय किलो पहेँलो धातु स्टोर भएको सूचना थियो । प्रधानमन्त्री कार्यालयले पाँच किलो सुन भएको सूचना दिएको स्रोतको दाबी छ ।
यसअघि असार ४ गते प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीकै सरकारी निवासमा प्रहरीले छापा मा¥यो । फरार प्रतिवादी लुकेको आशंकामा रातको ११ बजे मन्त्री निवास पुगेको प्रहरी टोलीले कोठा–कोठा खानतलासी ग¥यो । त्यहाँ पनि सूचना गलत साबित भयो ।
यस्तै मोरङ प्रहरीले गएको जेठ ५ गते सट्टेबाजी गरेको आशंकामा चार जनालाई नियन्त्रणमा लियो । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितालाई लिएर उनीहरू सट्टेबाजी खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । तर, पछि सट्टेबाजी खेलेको पुष्टि नभएपछि प्रहरीले २४ घण्टा नबित्दै उनीहरूलाई छोड्नु परेपछि प्रहरीको अप्रेसनमाथि प्रश्न उठेको छ ।















