
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद हर्क साम्पाङले अहिले देशमा कोही पनि सुरक्षित नभएको गुनासो गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले सरकारले काम नगर्दा नागरिक सुरक्षित हुन नसकेको बताएका हुन् । उनले भने, ‘कस्तो देशमा छौं भन्ने प्रश्नको उत्तर खोजिरहेका छौं। जुन देशको सुरक्षा छैन, न्याय छैन, सेवा सुधिवा पनि छैन । नागरिक सुरक्षित छैन । हामी सांसद सुरक्षित छैनौं । जे पनि हुने खालको स्थिति छ ।’
उनले झैझगडा भइरहेका, आगजानी भइरहेका र धम्की आइरहेको सुनाए । ‘देशमा झगडा भइरहेको, आगजनी आगलागी भइरहेको छ । धम्की आइरहेको छ । रिपोर्ट गर्दा कारबाही नभइरहेको स्थिति छ,’ उनले भने, ‘यात्रा गर्दा असुरक्षित महसुस गर्नुपर्ने स्थिति छ ।’
उनले देशमा अहिले न्याय पनि नपाइने गरेको गुनासो गरे । ‘न्याय पनि छैन यो देशमा । उदाहरणका लागि माइतीघर जाँदा हुन्छ । कति महिनादेखि मान्छे बसिरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई भेट्न मन्त्री जानु भयो? जानुस्। मन्त्रालयमा एसीको हावा खादै देश भेट्न सकिँदैन। सडकमा गएर बुझ्नुप¥यो।’
सरकारले जनताको दुःख महसुस गर्न नसकेको उनको भनाइ थियो। ‘जनताको पीडा महसुस हुनुप¥यो। एसीको कोठा छ, एसी भएकै गाडी छ, घरमा पनि एसी छ,’ साम्पाङले प्रश्न गरे, ‘दिनभर ग्यासको लाइनमा बस्नेको पीडा कहिले बुझ्ने हो?’















