Logo
Logo

सामाजिक सञ्जालमा मानहानि र गाली-बेइज्जती गरे कानुनी सजाय हुने सरकारको निर्णय


0
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्‍याउने काम गर्न नहुने भन्दै कानूनी सजाय हुने स्पष्ट पारेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियान अन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेको छ ।

सन्देश अनुसार, कसैलाई होच्याउने नियतले बोली वा वचनबाट अपमानजनक शब्द प्रयोग गर्नुलाई ‘गाली’ मानिनेछ । त्यसैगरी, कसैको इज्जत, चरित्र, आचरण वा ख्यातिमा आँच पुग्ने गरी कुनै आरोप लगाउनु वा त्यस्ता कुराहरूको प्रचार(प्रसार गर्नुलाई ‘बेइज्जती’ को श्रेणीमा राखिएको छ ।

जीवित व्यक्तिमात्र नभई, कुनै मृतकको सम्बन्धमा पनि परिवार वा नातेदारको भावनामा चोट पुग्ने गरी आरोप लगाउनुलाई बेइज्जती मानिनेछ । यस्तो कार्य गर्ने जोकोही पनि कानूनको दायरामा आउने मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउन आग्रह
सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम बढिरहेको सन्दर्भमा मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य कुनै पनि माध्यमबाट कसैलाई अपमान गर्ने, आधारहीन आरोप लगाउने वा प्रतिष्ठामा हानि पुग्ने सामग्री फैलाउने कार्य कानूनी कसूर हुन सक्छ,’ मन्त्रालयको सन्देशमा उल्लेख छ ।

के छ कानूनी व्यवस्था
मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ देखि ३०८ सम्म गाली र बेइज्जती सम्बन्धी प्रावधान रहेको उल्लेख गर्दै कसूरको प्रकृति हेरी सजाय र जरिबानाको व्यवस्था रहेको जनाएको छ ।

नागरिकलाई आफ्ना विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको सम्मान, प्रतिष्ठा र मर्यादामा आँच नपुग्ने गरी मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्