काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रका लागि गत आर्थिक वर्ष २०८२/८३ एक अर्थमा विरोधाभासपूर्ण रह्यो । एकातिर बैंकहरूको मुख्य आम्दानी मानिने खुद ब्याजको वृद्धिदर निकै सुस्त देखियो भने अर्कोतिर अन्तिम खुद नाफामा भने उल्लेख्य सुधार आयो । हालै सार्वजनिक बैंकहरूको अपरिष्कृत वित्तीय विवरणले नेपाली बैंकहरू अहिले व्यवसाय विस्तारभन्दा पनि रिकभरी (असुली) र खराब कर्जा व्यवस्थापनको म्याराथनमा रहेको संकेत गरेको छ ।

समग्रमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत वर्ष ६९ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३२.३२ प्रतिशतको छलाङ हो । अघिल्लो वर्ष यी बैंकहरूको कुल नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ मात्र थियो । बाहिरबाट हेर्दा नाफाको यो अंक लोभलाग्दो देखिए पनि यसको भित्री कथा भने व्यावसायिक विस्तारभन्दा पनि प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्था) मा भएको फेरबदलसँग जोडिएको छ ।
बैंकहरूबीचको नाफा कमाउने प्रतिस्पर्धामा नबिल बैंकले आफ्नो विरासत कायमै राखेको छ । ७ अर्ब ९० करोड रुपैयाँ नाफासहित नबिल पहिलो स्थानमा रहँदा कुमारी बैंकले सबैलाई अचम्मित पार्दै दोस्रो स्थान सुरक्षित गरेको छ । कुमारीले अघिल्लो वर्षको तुलनामा ३०५.९६ प्रतिशतले नाफा बढाएर ७ अर्ब ३८ करोड पु¥याएको छ । तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड नाफाका साथ उभिएको छ ।
नाफा वृद्धिदरका आधारमा हेर्ने हो भने हिमालयन बैंकको प्रगति सबैभन्दा चामत्कारिक छ । अघिल्लो वर्षको न्यून आधारका कारण हिमालयनको नाफा १०४१.४० प्रतिशतले बढेको देखिन्छ । यद्यपि, सबै बैंकको अवस्था सुखद छैन । केही समयअघिसम्म आक्रामक बजार विस्तार गरिरहेको प्रभु बैंक गत वर्ष २४ करोड रुपैयाँ घाटामा गएको छ भने एनआइसी एशिया बैंकको नाफा पनि खुम्चिएर १८ करोडमा झरेको छ । लक्ष्मी सनराइज, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकको नाफामा पनि संकुचन देखिएको छ ।
बैंकहरुको प्रोभिजन फिर्ताबाट आएको नाफा क्षणिक हुन सक्छ, त्यसैले दीर्घकालीन स्थायित्वका लागि बैंकहरूले कोर बैंकिङ व्यवसायमै सुधार ल्याउनुपर्ने देखिन्छ ।
बैंकको वास्तविक स्वास्थ्य जाँच्ने कसी खुद ब्याज आम्दानी हो । निक्षेप र कर्जाको ब्याज अन्तरबाट हुने यो आम्दानीमा भने बैंकहरूले खासै प्रगति गर्न सकेका छैनन् । समग्र वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी मात्र १.२७ प्रतिशतले बढेको छ । यसले बजारमा कर्जाको माग कम हुनु, ब्याजदर घट्नु र आर्थिक गतिविधि सुस्त हुनुको असर प्रष्ट पारेको छ ।
खुद ब्याज आम्दानीमा नबिल बैंक १७ अर्ब ९३ करोडसहित पहिलो स्थानमै छ । यद्यपि, एनआइसी एशियाको यस्तो आम्दानी २२.५६ प्रतिशतले घट्नु र हिमालयन तथा स्ट्याण्डर्ड चार्टर्डको आम्दानी पनि दोहोरो अंकले ओरालो लाग्नुले कोर बैंकिङ्ग व्यवसायमा चुनौती थपिएको संकेत गर्छ । रोचक त के छ भने, खुद ब्याज आम्दानी बढाउनमा प्रभु बैंक (२८.७३%) अग्रस्थानमा भए पनि खराब कर्जाका कारण बैंक घाटामा पुग्न बाध्य भयो ।
यस वर्ष बैंकहरूको नाफा बढ्नुको मुख्य कारण भनेको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा आएको गिरावट हो । बैंकहरूले खराब कर्जा उठ्ने अपेक्षामा वा उठेका कारण अघिल्लो वर्ष छुट्याएको रकमलाई राइट ब्याक गर्दा नाफा देखिएको छ । समग्र बैंकिङ्ग क्षेत्रको प्रोभिजनिङ रकम २७.६५ प्रतिशतले घटेको छ ।
कुमारी बैंकले १ अर्ब ४४ करोड र नेपाल बैंकले १ अर्ब १ करोड रुपैयाँ प्रोभिजन फिर्ता गरेका छन् । यही कारणले गर्दा कुमारीको खुद ब्याज आम्दानी जम्मा ३.३७ प्रतिशतले बढ्दा पनि नाफा भने ३०५ प्रतिशतले बढ्न पुग्यो । त्यस्तै, नेपाल बैंकको ब्याज आम्दानी घट्दा पनि नाफा ४६ प्रतिशतले बढ्नुको रहस्य पनि यही राइट ब्याक नै हो ।
तर, केही बैंकहरू अझै पनि खराब कर्जाको चपेटामा छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब १९ करोड र प्रभु बैंकले ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनमा राख्नुपरेको छ । लक्ष्मी सनराइज बैंकको प्रोभिजनिङ त १७७ प्रतिशतले बढेको छ, जसले बैंकको नाफामा प्रत्यक्ष दबाब सिर्जना गरेको छ ।
बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्दा नबिल बैंक सबैभन्दा बलियो देखिएको छ । नबिलले गरेको १७ अर्बको खुद ब्याज आम्दानीबाट झण्डै ४६ प्रतिशत अर्थात् ७.९ अर्ब रुपैयाँ खुद नाफामा परिणत गर्न सफल भएको छ । यसले बैंकको सञ्चालन खर्च न्यून रहेको र आम्दानीका अन्य स्रोतहरू पनि बलियो रहेको देखाउँछ । यसको विपरीत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १३ अर्ब आम्दानी गर्दा जम्मा २.७ अर्ब मात्र नाफा निकाल्नुले उसको सञ्चालन खर्च वा खराब कर्जा व्यवस्थापनमा चुनौती रहेको बुझिन्छ ।
निष्कर्षमा, गत आर्थिक वर्षको तथ्यांकले नेपाली बैंकहरू ‘सर्भाइभल’ र ‘रिकभरी’को मोडमा रहेको देखाउँछ । व्यवसाय विस्तारभन्दा पनि पुरानो खराब कर्जा उठाउन बैंकहरू बढी केन्द्रित भएका छन् । ब्याज आम्दानीमा देखिएको सुस्तताले आगामी दिनमा बैंकहरूलाई नयाँ क्षेत्रमा लगानी विस्तार गर्न र आम्दानीका वैकल्पिक बाटाहरू खोज्न दबाब दिने निश्चित छ । बैंकहरुको प्रोभिजन फिर्ताबाट आएको नाफा क्षणिक हुन सक्छ, त्यसैले दीर्घकालीन स्थायित्वका लागि बैंकहरूले कोर बैंकिङ व्यवसायमै सुधार ल्याउनुपर्ने देखिन्छ ।












