
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ ।
कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटोको व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुख्य मार्गहरूमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ । काभ्रेस्थित वी.पी. राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा सडकको अवस्था हेरेर मात्र सवारी छाडिने गरिएको छ ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशुली–मैजुङ–स्याफ्रुबेंसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जुन खुल्न केही समय लाग्ने देखिएको छ । नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि सम्भावित जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ । देशभरका विभिन्न स्थानमा सडक अवरोध भइरहने सम्भावना रहेकाले लामो दूरीको यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे बुझेर मात्रै यात्रामा निस्कन प्रहरीले आग्रह गरेको छ ।














