Logo
Logo

रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द


0
Shares

काठमाडौं । रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ ।

The current image has no alternative text. The file name is: rasuwa-badhi-bhotekoshi.jpg

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन् ।

विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको छ ।

बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ ।

रसुवामा यसअघि पनि बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको थियो। पछिल्लो बाढीले पुनः ऊर्जा पूर्वाधारमा असर पारेपछि उत्पादनदेखि प्रसारण र वितरणसम्मको विद्युत प्रणाली प्रभावित हुने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्