Logo
Logo

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि कार्यदल गठन


0
Shares

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ ।

The current image has no alternative text. The file name is: karyadal.jpg

कार्यदलले बाढीबाट प्रभावित क्षेत्रमा सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्यलगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । सम्बन्धित सरोकारवाला निकाय तथा संस्थालाई परिचालन गरी कामको नियमित अनुगमन र प्रतिवेदनसमेत तयार गरिने मन्त्रालयले जनाएको छ ।

कार्यदलले विपद्बाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक र वस्तुगत मूल्याङ्कन गर्नेछ। तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिनेछ ।

त्यस्तै, प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गरिनेछ । आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा आर्थिक स्रोतको समेत मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।

कार्यदलले संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्नेछ। पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई ध्यानमा राख्दै भविष्यमा जोखिम कम हुने गरी पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।

दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा एउटै काम दोहोरिन नदिन एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिनेछ। आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिससमेत गरिनेछ ।

कार्यदलले कार्यप्रगति, देखिएका समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्नेछ। साथै, कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने र विपद् पुनःस्थापनाका क्रममा प्राप्त अनुभव तथा तथ्यका आधारमा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिनेछ ।

मन्त्रालयका अनुसार कार्यदलले सम्बन्धित सबै निकायबीच समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्