
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने तय भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि सदन बोलाउने निर्णय गरेको हो ।
साथै, भोलिको बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् । १० भदौमा तीब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ ।
बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाब एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । १० भदौमा नै प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चित कालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने तय भएको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।
जसमा रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।
अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।
उद्धार, राहत तथा पुनःस्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।














