
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । शवहरू गन्हाउन थालेपछि निजी हेलिकप्टर कम्पनीहरुले सिधै शव बोक्न आनाकानी गरेको छ ।
टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकोप्टर कम्पनीहरुले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बताएका छन् ।
शव हेलिकप्टरमार्फत अन्यत्र लैजान विशेष ‘बकेट’ मगाउने तयारी गरिएको छ । हेलिकप्टरमा सिँधै शव राखेर लैजान दुर्गन्ध फैलिएपछि शवलाई सुरक्षित रूपमा राखेर ओसारपसार गर्न मिल्ने बकेट प्रयोग गर्ने तयारी गरिएको हो ।
बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य जारी छ । भदौ १० गते बिहान भोटेकोशी हुँदै त्रिशुली नदीमा एक्कासी आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो संख्यामा जनधनको क्षति भएको छ ।














