Logo
Logo

११ वटा जलविद्युत् आयोजनाबाट अझै ८९४ जनाको उद्धार हुन सकेन


0
Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा हराइरहेकामध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को तथ्यांकअनुसार अझै पनि ११ वटा जलविद्युत् आयोजनाबाट ८९४ जना सम्पर्कविहीन छन् ।

सबैभन्दा ठूलो संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन छन् । २१६ मेगावाटको निर्माणाधीन आयोजनामा ५७३ जना अझै हराइरहेका छन् । सोमबार तीन जनाको उद्धार भए पनि अरू ठूलो संख्या सम्पर्कमा आउन सकेका छैनन् ।

आयोजनामा हराइरहेकामध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने कामदार रहेको उल्लेख छ । उनीहरू बाढी आएको समयमा सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन । बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० जनाले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रह्यो । ६० मेगावाटको आयोजनाको सुरुङमा उद्धार टोलीले २४ घण्टा काम गरे पनि अहिलेसम्म भित्र फसेकाहरूको उद्धार हुन सकेको छैन ।

सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भइरहेको छ । सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि उद्धार टोली पुगेको भए पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन । नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको टोली आयोजनास्थल पुगेको थियो । आयोजनाले आज पनि आफ्नोतर्फबाट उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ ।

त्यस्तै माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि आइतबारदेखि हराइरहेकाहरूको खोजी जारी छ । आयोजनाका संरचनाहरू बाढीमा बगेकाले उद्धारमा थप कठिनाइ भएको छ । आयोजनासँगै रहेको २२० केभी त्रिशूली–३ बी हब सबस्टेसनमा समेत पूर्ण क्षति पुगेपछि त्यहाँबाट सम्पर्कविहीन भएकाहरूको खोजीमा थप समस्या भएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पनि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन् । कम्पनीका अनुसार ४९ जना कर्मचारीसहित ९३ जना हराइरहेका छन् । सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरेर खोजी गरेको थियो । तर, मानिस फेला नपरेको भन्दै ती टोली धुन्चे फर्किसकेको छ ।

नुवाकोटका प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाबाट १ जना, १४.१ मेगावाटको देवीघाटबाट १ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’बाट ४२ जना, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’बाट १९८ जना र १५।६ मेगावाटको मिडल त्रिशूली गंगाबाट २ जना सम्पर्कविहीन छन् । उद्धार प्रयास भइरहे पनि अझै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्