काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् । नेपाल सरकारको प्रस्तावपछि संयुक्त राष्ट्रसङ्घले वक्ताहरूको सूची संशोधन गर्दै सेप्टेम्बर २४ अर्थात् असोज ८ गते प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालयले उपलब्ध गराएको सम्बोधनको समय शुक्रवार न्युयोर्कस्थित नेपाली स्थायी नियोगमार्फत परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ ।
संशोधित तालिकाअनुसार सेप्टेम्बर २४ मा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन् । सो सूचीमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ १७ औँ वक्ताका रूपमा रहनेछन् ।
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुने महासभामा हालसम्म १ सय १८ देशका नेताले सम्बोधन गर्ने सूची रहेको छ । अधिकांश देशबाट राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री सहभागी हुनेछन् ।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो । तर, भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले भदौ १८ गते प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्ने निर्णय गरेको हो ।














