काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान गरेका छन् ।

जनकपुरमा आयोजित लायन्स क्लवको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । नेता निधीले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गरे । नेपाल प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै उनले हालसम्म १ हजार ३ सय बढीको मृत्यु भएको र ४ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिए । मधेस प्रदेशमा मात्रै अझै १६२ जना सम्पर्कविहीन रहेको र उनीहरूको अवस्था अज्ञात रहनु दुःखद भएको उनको भनाइ रहेको छ ।
नेता निधीले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताउनु भयो । विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधीले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको उहाँले उल्लेख गरे । साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पु¥याएको सहयोगप्रति उहाँले आभार प्रकट गरे ।
नेता निधीले भने, ‘हामीले अहिलेसम्म यति ठूलो विपत्ति व्यहोरेका थिएनौँ । यस्तो बेला जात, वर्ण, लिङ्ग, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ । ४,९०० भन्दा बढी मानिस अझै सम्पर्कविहीन छन् । मधेस प्रदेशमा मात्रै १६२ जना सम्पर्कविहीन रहेको जानकारी छ । सुरुमा १९२/२०० जनाको सङ्ख्या रहे पनि ३० जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन हुनु आफैँमा दुःखद् र चिन्ताजनक अवस्था हो । भौतिक क्षतिको त कुरै नगरौँ । रसुवाको नेत्रावती, ढुङ्गे बजारदेखि नुवाकोटसम्म ठूलो क्षति भएको छ । यस्तो विपत्ति हामीले यसअघि भोगेका थिएनौँ । अहिलेका तीन प्राथमिक काम हुन्, उद्धार, राहत र पुनर्निर्माण । सबैभन्दा पहिलो प्राथमिकता भनेको उद्धार र मानवीय जीवन बचाउनु हो ।’
जलविद्युत क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधीले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।















