Logo
Logo

सम्पती शुद्धीकरणका हाकिमलाई पेस्तोल देखाएको विषयमा सरकारसँग जवाफ माग


189
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले मध्यराति पेस्तोल भिराएर सम्पती शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् । यसअघि सत्तारुढ दल रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

गत बिहीवारको सभाको बैठकमा सांसद सिहले भनेका थिए, ‘म यहाँ धेरै घटना उल्लेख गर्न चाहन्नँ कि सम्पती शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई २ घण्टाभित्र रेड कर्नर नोटिस जारी गर ।’

सांसद यादवले सरकार र सत्तारुढ दलका सांसदहरुको अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यताविपरित रहेको भन्दै आलोचना समेत गरे । उनले सांसदहरुले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा पनि आपत्ति जनाए ।

उनले भने, ‘म सत्तारुढ दलका माननीयज्यूहरुले सार्वजनिक रुपमा दिएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु । कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ । कतै प्रश्न गर्दा धम्की आएको कुरा पनि सुन्नमा आएको छ । यो अत्यन्तै अलोकतान्त्रिक कुरा हो । यसमा सरकारको के जवाफ छ ? हामी सुन्न चाहन्छौँ । लोकतन्त्रको मूल्य नै भयरहित समाजको निर्माण भएको हुनाले यो विषय अत्यन्त गम्भीर छ ।’

प्रतिक्रिया दिनुहोस्