Logo
Logo

किन पंगु बन्यो नेकपा कार्यदल ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अन्ततः पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने दायित्व सचिवालयको काँधमा आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी र जनवर्गीय संगठनहरूको एकता टुंगो लगाउन बनाइएको कार्यदलले समयसीमा पार गरिसक्दासमेत जिम्मेवारी पूरा गर्न नसकेपछि सांगठनिक एकता पूरा गर्ने दायित्व सचिवालयको काँधमा आएको हो ।
गत पुस १२ मा स्थायी समिति बैठकले पुस मसान्तभित्र एकतासम्बन्धी प्रतिवेदन तयार पार्न गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई तल्ला तहमा एकीकरणसम्बन्धी गृहकार्य गरी सुझाव पेश गर्न कार्यादेश दिइएको थियो । माघ तेस्रो साता कटिसक्दासमेत कार्यदल निष्कर्षमा पुग्न नसकेपछि सोमबार बसेको सचिवालय बैठकले आफैँले टुंग्गो लगाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंगलबारसम्ममा अहिलेसम्म भएका कामको प्रगतिविवरणसहितको प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयले अध्ययन गर्नेछ र, आवश्यक निर्णय लिनेछ । सचिवालयको निर्णय अनुमोदन गर्न स्थायी कमिटी बैठक बोलाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘लामो समयसम्म पनि तल्ला तहमा सांगठनिक एकीकरण हुन नसकेपछि हामीले कार्यदल बनाएका थियौँ । तर, कार्यदलले एकीकरणको विषय टुंग्याउन सकेन,’ दृष्टिसँगको कुराकानीमा पार्टी प्रवक्ता श्रेष्ठले भने, ‘अब सचिवालयले नै आवश्यक निर्णय लिनेछ । तर, त्यसअघि अहिलेसम्म भएका प्रगतिलाई समेटेर प्रतिवेदन पेश गर्न सचिवालय बैठकले सोमबार कार्यदललाई निर्देशन दिएको छ ।’

कार्यदलले सकेन विवाद मिलाउन
तीन महिनाभित्र सांगठनिक एकता पूरा गर्ने गरी गत जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको थियो । यद्यपि, अहिलेसम्म तल्ला कमिटी बन्न सकेको छैन । एकताकै चरणमा सचिवालय, स्थायी समिति र केन्द्रीय समिति निर्माण भए पनि प्रदेश कमिटी बन्न धेरै समय लागेको थियो । गत पुसमा भएको स्थायी समिति बैठकले प्रदेश कमिटी अनुमोदन गरेको हो । उक्त बैठकमा एकताको काम समयमै सम्पन्न गर्न असमर्थ भएको भन्दै नेतृत्वको आलोचना भएपछि कार्यदल बनेको थियो । त्यसपछि डेढ महिना बितिसक्दा पनि एकीकरण प्रक्रियाले पूर्णता पाउन सकेको छैन । कार्यदलमै रहेकाहरूबीच सहमति जुट्न नसक्दा जिल्ला कमिटी, संगठन विभागसम्बन्धी निर्णय लिन नसकिएको कार्यदलका एक सदस्यले बताए । ‘तोकिएको समयमै पार्टी कमिटी टुंग्याउनुपर्छ भन्ने सबैलाई थाहा छ । तर, गुटगत स्वार्थबाट माथि उठ्न कोही तयार छैन,’ कार्यदल निष्कर्षमा पुग्न नसक्नुको कारण खोल्दै ती सदस्यले भने, ‘विधि र पद्धतिभन्दा आफ्ना पक्षधरलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने अडान नछाडिएकैले कार्यदल पनि असफल बनेको हो ।’

एकता नटुंगिँदा लाखौँ कार्यकर्ता दुःखी
ऐतिहासिक जिम्मेवारी पूरा गर्ने अभिभारासहित बनेको एकीकृत भएको पार्टी एकता प्रक्रिया नटुंगिँदै गुटगत स्वार्थमा अल्मलिँदा लाखौँ कार्यकर्ता दुःखी छन् । विश्व कम्युनिष्ट आन्दोलन असफलतातिर गइरहेका वेला नेपाली कम्युनिष्ट पार्टीले भने जनताको असिम मायाँ पाउँदै आएको छ । दुई पार्टी एकीकृत भएपछि यो अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ । इमान्दार सयौँ नेता र लाखौँ कार्यकर्ता भएको पार्टीको सबैभन्दा माथिल्लो तहका केही नेतामा गुटगत स्वार्थ हावी हुँदा त्यसलै कम्युनिष्ट आन्दोलन, यसको नेतृत्वमा बनेको दुईतिहाइ नेतृत्वको सरकारलाई नै असफलतातिर लैजाने खतरा पैदा भएको छ । ‘गुट बनेपछि पार्टी सिद्धिन्छ । गुट र पार्टी भनेको आगो र पानी जस्तै हो । गुट बने पार्टी अगाडि बढ्दैन । पार्टी बन्यो भने गुट अगाडि बढ्दैन,’ नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङको भनाइ छ, ‘बाह्य शक्तिले गुटैगुट बनाएर पार्टी ध्वस्त बनाउने रणनीति गरिरहेका हुन्छन्, सदैव हामी सचेत रहनुपर्दछ ।’ (अन्तर्वाता पृष्ठ ५ मा)

पार्टीभित्र गुटका अवशेष अझै बाँकी
एकीकृत पार्टीभित्र विधि पद्धति पालना गर्ने कुरामा अभ्यस्त नभइसकेको तथा हिजोका फरक फरक पार्टी वा पार्टीभित्रैका पनि गुटहरूको अवशेष बाँकी रहेकाले पनि एकता प्रक्रिया टुंग्याउन कठिनाइ भएको अधिकांश नेताले बताउने गरेका छन् । ‘यो सबैले बुझेको कुरा हो । पार्टीलाई विधि पद्धतिमा लैजानुपर्छ, गुट बनाउन हुँदैन भन्ने पनि सबैले जानेको विषय हो । तर, व्यवहारमा लागू हुन नसक्दा समस्या जस्ताको तस्तै देखिएको छ ।
कार्यदलले बैठकसमेत बस्न नसकेको भनी सञ्चारमाध्यमहरूमा लगातार समाचार आएपछि सचिवालयले सोधखोज गरेको थियो । त्यसक्रममा एकीकरणको काम प्रगतिउन्मुख नदेखेपछि सचिवालय आफैँले कमिटी टुंग्याउने निष्कर्षमा पुगेको हो ।
प्रवक्ता श्रेष्ठ भन्छन्, ‘धेरै विलम्ब भइसक्यो अब एक सेकेन्ड पनि ढिलाइ गर्न हुँदैन भन्ने गम्भीर समीक्षा सचिवालय बैठकमा भएको छ । विशेषतः दुवै अध्यक्षले आआफ्नोतर्फबाट र सचिवालयको तर्फबाट आआफ्ना कमजोरी गम्भीर रूपमा महसुस गरिएपछि यो निर्णयमा पुगिएको हो ।’ कार्यदलले डेढ महिनाको समयमा जे जति काम सम्पन्न गरेको छ त्यसलाई सचिवालयमा पेश गरेपछि सचिवालयले फेरि गृहकार्य गर्ने र तत्कालै निर्णय गर्ने बताइएको छ ।
सोमबारको बैठकले भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी अध्यक्ष र सरकारबाट जारी विज्ञप्ति नै पार्टीको आधिकारिक भएको दोहो¥याएको छ ।

भेनेजुएलाबारे पार्टी र सरकार स्पष्ट
बैठकले भेनेजुएला घटनाप्रति कुनै भ्रममा नपर्न र गलत प्रचार नगर्नसमेत आग्रह गरेको छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राखेको प्रवक्ता श्रेष्ठले बताए । उनले नेकपाको विदेशनीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको स्पष्ट पारे । ‘यस सम्बन्धमा पार्टीको दृष्टिकोण र नीति स्पष्ट र स्थिर छ,’ प्रवक्ता श्रेष्ठले दृष्टिसँग भने, ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस्