काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्न निर्देशन दिएका हुन् ।

उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको बताउँदै स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सीमित नरहेको बताएका हुन् ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने ओलीको भनाइ रहेको छ ।
ओलीले भने, ‘अब निर्वाचनहरू आउँदै छन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो । स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले भोट हाल्ने हो राष्ट्रिय सभालाई । यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यस कारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो ।’
प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने ओलीको भनाइ रहेको छ । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको ओलीले बताए ।
‘देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनताको सेवा पुर्याउन, स्थानीय तहबाट विकासका कामहरूलाई अगाडि बढाउन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन यो स्थानीय तहको निर्वाचनको असाधारण महत्त्व छ । एक वर्षपछि प्रदेश सभाको निर्वाचन हुन्छ,’ उनले भने ।
आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने ओलीको भनाइ रहेको छ । उनले स्थानीय तहको निर्वाचनलाई फोकस गरेर सङ्गठन निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई वैधानिकता दिन राज्य शक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाए ।


















