
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्चमा नयाँ दुबो रोप्ने तथा मर्मतसम्भार गर्ने काम सुरु गरिएको छ । महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो नष्ट भएपछि नेपाली कांग्रेस काठमाडौं महानगर समितिको पहलमा पुनःरोपण थालिएको हो ।

खुलामञ्चमा मासिएको पुरानो दुबो हटाएर नयाँ दुबो रोप्ने तथा क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ । मैदानको प्राकृतिक सौन्दर्य र हरियाली कायम राख्दै पुरानै अवस्थामा फर्काउने उद्देश्यले पुनःरोपण अघि बढाइएको नेपाली कांग्रेसले जनाएको छ । पुनःरोपण तथा मर्मतसम्भारको काम सम्पन्न भएपछि खुलामञ्चको हरियाली र सौन्दर्य पुनः फर्किने अपेक्षा गरिएको छ ।




























