काठमाडौं । बजारमा उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ ।

विभागका महानिर्देशक रितेश कुमार शाक्यले जिम्मेवारी सम्हालेयता बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने प्रयासस्वरूप अनुगम बढाएको हो । यस अवधिमा कारबाहीमा परेका फर्महरूबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको विभागले जनाएको छ ।
बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न विभागले दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन गर्दै आएको महानिर्देशक शाक्यले प्रशासनपोस्टलाई बताए । उनका अनुसार बजारमा देखिने विकृति, कृत्रिम मूल्यवृद्धि, व्यापारिक अनियमितता र उपभोक्ता ठगी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइएको छ ।
‘बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो । त्यसैले नियमित रूपमा अनुगमन टोली परिचालन गरिरहेका छौँ,’ महानिर्देशक शाक्यले भने ।
खाद्यान्नदेखि ग्यास र होटलसम्म निगरानी
विभागले अनुगमनलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा मात्र सीमित नराखी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यापारिक क्षेत्रसम्म विस्तार गरेको छ ।
खाद्यान्न तथा किराना पसल, होटल तथा रेस्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, रेडिमेड तथा थान कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसललगायत क्षेत्रमा विभागले निगरानी बढाएको छ ।
विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा उपभोक्ताको अधिकारविपरीत हुने गतिविधिलाई अनुगमनको प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा कैफियत देखिएका ७६ वटा फर्मलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । यसले बजार अनुगमनका क्रममा तत्काल कारबाहीमा परेका व्यवसायीसँगै थप छानबिन र नियामकीय निगरानीको दायरामा रहेका फर्मको सङ्ख्या पनि उल्लेख्य रहेको देखाउँछ ।
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टल (टिकट नं. HS-WEB-188… मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ (अक्षरुपी दुई लाख मात्र) जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ । हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।
सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ ।
अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी
बजारमा हुने अनियमितता नियन्त्रण गर्न सरकारी निकायको अनुगमन मात्र पर्याप्त नहुने भन्दै विभागले उपभोक्ता तथा सर्वसाधारणको सहयोगसमेत अपेक्षा गरेको छ ।
महानिर्देशक शाक्यले बजारमा कुनै पनि प्रकारको ठगी, अनुचित व्यापारिक गतिविधि वा उपभोक्ताको हितविपरीतका काम भएको पाइएमा त्यसबारे जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । विभागले आवश्यकताअनुसार अनुगमन टोलीको सङ्ख्या र परिचालनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।


















