
काठमाडौं । प्रधानमन्त्री बालेन शाह राजकीय भ्रमणका लागि आज भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी आज दुई दिने राजकीय भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित मूर्ति उपहार दिने तयारी गरेका छन् ।
यसअघिका नेपाली प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने गरेका थिए । तर, प्रधानमन्त्री बालेनले भने यसपटक फरक र ऐतिहासिक महत्व बोकेका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदाका मूर्ति उपहार दिने तयारी गरेका हुन् ।
भ्रमणका क्रममा सोमबार उनले भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । सो क्रममा मोदीलाई रातो मच्छिन्द्रनाथको मूर्ति उपहार दिने तयारी गरेका छन् । रातो मच्छिन्द्रनाथ नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएका महत्त्वपूर्ण देवता हुन् ।
त्यस्तै, भारतीय राष्ट्रपति मुर्मूलाई प्रधानमन्त्री बालेनले काठमाडौँको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित मूर्ति उपहार दिने तयारी गरेका छन् । चारुमती विहारको इतिहास भारतका मौर्य सम्राट अशोक र उनकी छोरी चारुमतीसँग जोडिएको छ । यी दुई उपहारले नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई प्रतिबिम्बित गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


















