Logo
Logo

अण्डा उत्पादक किसान आन्दोलित


- दृष्टि न्युज/संवाददाता


चितवन, २३ माघ ः लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् ।

 

सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका हुन् । विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनु परेको पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल अण्डा उत्पादक सङ्घले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन् । हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो रु ५३ पुगेको भन्दै सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अण्डा प्रतिक्रेट रु २३० मा मात्र बिकेको बताउनुभयो । 

अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट रु ३०० पाउनुपर्ने उहाँको भनाइ छ । हाल बजार मूल्यअनुसार किसानले एउटा अण्डाको हाराहारी आठ रुपैयाँ पाएका छन् । सोही अण्डा उपभोक्ताले खरीद गर्दा रु १५ तिर्नुपर्ने बाध्यता छ । दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी बेहोर्दै आएका छन् । 

चल्लाको मूल्यमा समेत अस्वभाविक वृद्धि भएपछि ब्रोइलर कुखुरापालक कृषकले गत महीनामात्र चल्ला उठाउन रोकेर आन्दोलन गरेका थिए । हाल नेपालमा दैनिक ३५ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध रहेका छन् । 

सङ्घका केन्द्रीय सचिव मदन पोख्रेलका अनुसार लेयर्स कुखुरापालनबाट मात्र एक लाख ७० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोख्रेलको भनाइ छ । 

(रासस)

प्रतिक्रिया दिनुहोस्