Logo
Logo

घरेलु मैदानमै कर्णालीको लज्जास्पद हार, प्रतियोगिताबाटै बाहिरियो


0
Shares

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा घरेलु टोली कर्णाली प्रदेशको चुनौती समाप्त भएको छ । लिग चरणमा प्रवेश गर्नुअघि नै लगातार दोस्रो हार बेहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

बिहीबार प्रतियोगिताको तेस्रो दिन भएको खेलमा कर्णाली गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा जित्नैपर्ने दबाबमा रहेको कर्णालीले गण्डकीविरुद्ध कमजोर प्रदर्शन गर्दा फराकिलो हार बेहोर्नुपरेको हो ।

गण्डकीले खेलको १६औँ मिनेटमा लछु थापाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि २५औँ र ३३औँ मिनेटमा आशिष गुरुङले लगातार दुई गोल गर्दै गण्डकीको अग्रता ३–० बनाए ।

दोस्रो हाफमा पनि गण्डकीले आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५७औँ मिनेटमा सुदीप गुरुङले चौथो गोल गरे भने अतिरिक्त समयको चौथो मिनेटमा टेकराज गुरुङले पाँचौँ गोल थपे । अन्ततः गण्डकीले ५–० को फराकिलो जित निकाल्यो ।

यसअघि मंगलबार उद्घाटन खेलमा पनि कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तरले पराजित भएको थियो । लगातार दुई हारसँगै कर्णाली प्रतियोगिताको लिग चरणमा पुग्न असफल भयो ।

खेलका क्रममा गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए ।

यसैबीच, बिहीबार दिउँसो २ः३० बजे हुने अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000