Logo
Logo

अस्ट्रेलियामा सामाजिक सञ्जाल र एआईमाथि कडा नियमन, हानिकारक सामग्री आफैँ हटाउनुपर्ने


0
Shares

मेलबर्न । अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल, इन्टरनेट, गेमिङ तथा एआई सम्बन्धी कम्पनीहरूलाई थप जिम्मेवार बनाउने गरी नयाँ कानुन ल्याएको छ ।

‘डिजिटल ड्युटी अफ केयर’ नाम दिइएको उक्त कानुनअनुसार अब कम्पनीहरूले आफ्ना प्लेटफर्ममा फैलिने गलत सूचना तथा हानिकारक सामग्री आफैँ पहिचान गरी हटाउनुपर्नेछ ।

नयाँ कानुन सामाजिक सञ्जाल कम्पनीमा मात्र सीमित नभई एआई प्रविधि, एआई च्याटबट र गेमिङ कम्पनीमा समेत लागू हुनेछ । कानुन उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी कारोबारबाट हुने आम्दानीको पाँच प्रतिशत वा १० करोड ९२ लाख अस्ट्रेलियन डलरसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ । यी दुईमध्ये जुन रकम बढी हुन्छ, त्यहीअनुसार जरिवाना लगाइनेछ ।

यस कानुनको मुख्य उद्देश्य इन्टरनेटमा फैलिने हानिकारक सामग्रीबाट सर्वसाधारण, विशेषगरी बालबालिकालाई सुरक्षित राख्नु रहेको सरकारले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार कम्पनीहरूले प्रयोगकर्ताको उजुरी आएपछि मात्र सामग्री हटाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेछ । सम्भावित जोखिम पहिचान गरी त्यस्ता सामग्री फैलिन नदिन सुरुदेखि नै आवश्यक प्रबन्ध गर्नुपर्नेछ ।

महिलाविरुद्ध घृणा फैलाउने सामग्री, हिंसा भड्काउने पोस्ट, जोखिमपूर्ण स्टन्ट, डीपफेक तथा बालबालिकालाई हानि पुर्‍याउने सामग्रीलाई यसको दायरामा राखिएको छ । त्यस्तै, कम्पनीहरूले आफ्ना प्लेटफर्मको डिजाइन र एल्गोरिदमका कारण उत्पन्न हुन सक्ने जोखिमसमेत न्यूनीकरण गर्नुपर्नेछ ।

प्रयोगकर्तालाई सामाजिक सञ्जालका एल्गोरिदमले सिफारिस गरेका पोस्ट तथा भिडियो हेर्ने वा नहेर्ने भन्ने विकल्पसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यो कानुन आगामी वर्ष नोभेम्बरदेखि कार्यान्वयनमा आउन सक्ने बताइएको छ । यद्यपि, साना तथा कम जोखिम भएका व्यवसायलाई भने केही व्यवस्थाबाट छुट दिन सकिनेछ ।

अष्ट्रेलियाकी सञ्चारमन्त्री अनिका वेल्सले नयाँ कानुनलाई सवारीसाधनमा सिट बेल्ट अनिवार्य गर्ने र चुरोटको प्याकेटमा सादा प्याकेजिङ लागू गर्ने नियमसँग तुलना गरेकी छन् । उनका अनुसार जसरी यस्ता नियमले नागरिकको सुरक्षा सुनिश्चित गर्छन्, त्यसरी नै इन्टरनेट कम्पनीहरूले पनि आफ्ना प्लेटफर्मबाट हुन सक्ने क्षतिको जिम्मेवारी लिनुपर्छ ।

यसअघि सन् २०२५ मा अष्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो ।

अन्य देशमा पनि सामाजिक सञ्जाल नियमनका प्रयास

युरोपेली संघले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्लेटफर्मबाट उत्पन्न हुन सक्ने जोखिम पहिचान गरी न्यूनीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । बेलायतमा गैरकानुनी सामग्री हटाउने र प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी कम्पनीहरूलाई दिइएको छ ।

त्यस्तै, भारतमा सूचना प्रविधिसम्बन्धी नियममार्फत सामाजिक सञ्जाल कम्पनीलाई प्रयोगकर्ताका उजुरीको निश्चित समयभित्र सम्बोधन गर्न र कानुनविपरीतका सामग्री हटाउनुपर्ने व्यवस्था छ ।

तर अस्ट्रेलियाको नयाँ कानुनले भने सामग्री प्रकाशित भइसकेपछि हटाउने दायित्वमा मात्र सीमित नराखी सम्भावित जोखिम उत्पन्न हुनै नदिन कम्पनीहरूलाई अग्रिम जिम्मेवार बनाउने प्रयास गरेको छ । यसले विश्वव्यापी रूपमा सामाजिक सञ्जाल र एआई कम्पनीमाथिको नियमनलाई थप कडा बनाउने संकेत गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000