
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत सम्बन्धित निकायका प्रतिनिधिसँग विधेयकका विषयमा थप छलफल भएको हो । यसअघि पनि मन्त्रालयले सरोकारवाला निकायसँग चरणबद्ध रूपमा छलफल गर्दै आएको थियो ।
मन्त्रालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी संशोधन विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी छ ।
प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायत निकायबाट उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव अघि सारिएको छ । बीमा सेवा प्रवाहलाई सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि संशोधनमा समेटिएका छन् ।
मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी नागरिकको समग्र स्वास्थ्य सुरक्षासँग जोड्ने लक्ष्य राखेको जनाएको छ ।
आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको मन्त्री मेहताले बताएकी छन् ।



















