काठमाडौं । वाशिङ्टनले कथित अतिरिक्त उत्पादनबारे महिनौँ लामो अनुसन्धान सकेपछि चीनदेखि युरोपेली सङ्घसम्मका प्रमुख अर्थतन्त्रहरूले प्रस्तावित नयाँ अमेरिकी करप्रति आपत्ति जनाएका छन् । यसले अमेरिकाका सहयोगी र विरोधी दुवै राष्ट्रसँगको व्यापारिक तनाव नयाँ चरणमा पुग्न सक्ने सङ्केत दिएको छ ।

सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका अघिल्ला करहरू रद्द गरेको केही दिनपछि सुरु भएको अनुसन्धानपछि नयाँ शुल्क प्रस्ताव गरिएको हो र करको दायरा थप २० प्रतिशतसम्म बढ्न सक्छन् । यी शुल्कहरू जनवरीदेखि लागू हुन सक्ने गरी सार्वजनिक टिप्पणीको अवधिबाट गुज्रनुपर्नेछ । यी शुल्कहरूले संयुक्त राज्य अमेरिकाका केही ठूला व्यापारिक साझेदारहरूलाई लक्षित गरेका छन् ।
चीन, युरोपेली सङ्घ, भारत, बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड र भियतनाम यसमा परेका छन्। जापानजस्ता केही देशहरूले अतिरिक्त उत्पादन भएको अस्वीकार गरेका छन् ।
“जापानसँग कुनै गैर–बजार नीति अभ्यास वा संरचनात्मक अतिरिक्त उत्पादन क्षमता छैन तर यसका बाबजुद जापानलाई लक्षित गरी प्रस्ताव गरिएको उपाय घोषणा गरिएकोमा खेद व्यक्त गर्दछौँ,” जापानका प्रमुख सरकारी प्रवक्ता मिनोरु किहाराले भने । नाम उल्लेख नगर्ने सर्तमा बोल्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, “प्रस्तावहरूले विद्यमान व्यापार सम्झौताहरूलाई ध्यानमा राख्ने प्रयास गरेका छन् । चीन २० प्रतिशत ट्यारिफको सामना गर्नेमध्ये एक हो। तर अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कहरू बेइजिङसँग भइरहेका व्यापार वार्ताको सीमाभित्रै रहेको बताए ।
“हामीबीच केही अवस्थामा करवृद्धि हुनेछ भन्ने चीनले बुझ्छ । यो त्यही समझदारीभित्र पर्छ,” उनले अमेरिकी प्रसारक सीएनबीसीसँग भने ।
वाशिङ्टनले चीनलाई करिब ३० अर्ब डलरको वस्तुमा छुट दिइरहेको पनि उनले बताए ।
‘वास्तविक चिन्ता’ युरोपेली सङ्घले नयाँ करको आधार नै अस्वीकार गरेको छ र संयुक्त राज्य अमेरिकाले गत वर्ष भएको सम्झौता पालना गर्ने अपेक्षा गरेको छ ।
“युरोपेली सङ्घ र अमेरिका दुवैलाई विश्वव्यापी अतिरिक्त क्षमताबारे वास्तविक चिन्ता छ, जसमध्ये धेरै राज्य–सञ्चालित र तेस्रो देशहरूमा केन्द्रित छ । संयुक्त कदम नचलेकोमा हामीलाई खेद छ,” युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले भने ।
चीनको विदेश मन्त्रालयले नयाँ शुल्कहरू आधिकारिक रूपमा घोषणा हुनुअघि नै प्रतिक्रिया दिँदै वाशिङ्टनलाई ‘कर युद्ध र व्यापार युद्ध’ मा नलाग्न चेतावनी दिएको थियो । सिङ्गापुरले बिहीबार यी प्रस्तावहरूप्रति ‘धेरै निराश’ रहेको बताउँदै आफूले घरेलु बजार संरक्षण वा उत्पादनमा अनुदान नदिएको भन्ने कुरालाई अस्वीकार ग¥यो । नयाँ प्रस्तावित कर नीति अनुसार भियतनामले पनि २० प्रतिशत करको सामना गर्नुपर्नेछ । कम्बोडिया र इन्डोनेसियालाई १८ प्रतिशत तथा भारतलाई १७ प्रतिशत तोकिएको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएको छ ।
युरोपेली सङ्घ, दक्षिण कोरिया र ताइवानसँग अमेरिकाको व्यापार सम्झौता भएकाले उनीहरूमाथिको नयाँ कर१५ प्रतिशतमा सीमित हुनेछ । एक अर्को घोषणामा अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलबाट आउने वस्तुहरू, विशेष गरी विमानमा अतिरिक्त कर प्रस्ताव गरेको छ ।
वासिङ्टनले अमेरिकी व्यापार चिन्ताहरू सम्बोधन नगर्दा यो कदम चालेको बताइएको छ । ब्राजिलका राष्ट्रपतिको कार्यालयले यी उपायहरूलाई ‘अस्वीकार्य’ भन्दै ब्रासिलिया यस्ता चेतावनीसामु झुक्ने छैन भनेको छ । अमेरिकी ट्रम्प प्रशासनका करहरूले वाशिङ्टनका मित्र र विरोधी दुवैलाई लक्षित गरेका छन् । यो राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा विश्वव्यापी व्यापारलाई पुनःआकार दिन गरिएको प्रयासको हिस्सा हो, जसमा देशहरूलाई अमेरिकी उत्पादन किन्न वा आफ्ना वस्तुहरू अमेरिकाभित्रै उत्पादन गर्न बाध्य पार्ने लक्ष्य राखिएको छ । अतिरिक्त क्षमतासम्बन्धी चिन्ताहरू ब्याट्रीदेखि सिमेन्ट, रसायन र प्रशोधित खानासम्मका विभिन्न क्षेत्रहरूमा फैलिएको वरिष्ठ अमेरिकी अधिकारीहरूले बताएका छन् ।
राष्ट्रलाई ‘खोक्रो बनाउने’ यी शुल्कहरूले पहिलेका करबाट पहिले नै दबाबमा रहेका अमेरिकी व्यवसायहरूमा थप दबाब सिर्जना गर्न सक्छन् । कम्पनीहरूले अब यी खर्च पहिले नै उच्च जीवनयापन खर्चबाट निराश उपभोक्ताहरूमाथि थोपरिने सम्भावना बढेको छ । किफायतलाई जोड दिने यस महिनाको अमेरिकी मध्यावधि चुनावको प्रमुख मुद्दा थियो, जसमा ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमा डेमोक्र््याट्ससँग हार बेहोरेको थियो ।
यो घोषणा त्यतिबेला आएको हो जब तथ्याङ्कले फेडरल रिजर्भको प्राथमिक मुद्रास्फीति मापक अक्टोबरमा तीन वर्षकै उच्च बिन्दुमा पुगेको देखाएको छ । यसले ब्याजदर बढाउने दबाब थपेको छ । व्यापार नीतिमामिला हेर्ने एक वकिल रायन माजरसले एएफपीसँग भने, “मैले यो अनुसन्धानलाई ट्रम्प प्रशासनका ‘सबैभन्दा महत्त्वपूर्ण’ कदमहरूमध्ये एक हुने अपेक्षा गरेको छु, किनकि यसको मूल चिन्ता यो हो कि अतिरिक्त क्षमता भएका कारखानाहरू विदेशमा सञ्चालन सुरु गर्छन् र माग नभए पनि ‘कहिल्यै बन्द हुँदैनन्’। यसले वस्तुहरूको अत्यधिक आपूर्ति, मूल्यमा गिरावट र अमेरिकी उत्पादन क्षेत्रलाई ‘खोक्रो बनाउने’ अवस्था निम्त्याउन सक्छ ।”
अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरीमा ट्रम्पका विश्वव्यापी करहरू रद्द गरे पनि क्षेत्रगत करहरू अझै कायम छन् । नयाँ शुल्कहरू अटोमोबाइल र स्टीलजस्ता वस्तुहरूमा लाग्ने क्षेत्र–विशिष्ट करमाथि थपिन नसक्ने उच्च अमेरिकी अधिकारीले बताएका छन् ।
जुलाईमा राष्ट्रपति ट्रम्पले ६० मुलुकहरूमा छुट्टै करको श्रृङ्खलाको घोषणा गर्नुभएको थियो । अमेरिकी प्रशासनले जबरजस्ती श्रमविरुद्ध पर्याप्त कदम नचालेको आरोप लगाउँदै यो घोषणा गरेको थियो । जबरजस्ती श्रम र अतिरिक्त उत्पादन दुवै करको सामना गर्ने अर्थतन्त्रहरूमा शुल्कहरू थपिने छैनन् र उच्च दर लागू हुने अमेरिकी अधिकारीले बताए ।
यो पनि पढ्नुहोस्


















