Logo
Logo

काठमाडौंमा भोलि पानी पर्ने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २३ माघ ।
काठमाडौमा बिहीबार पानी पर्ने मौसमविद्हरुले बताएक छन् । र्
े पश्चिमी वायु नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको हो ।
बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ।
यो क्रम शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू(भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘उपत्यकामा पनि भोलि बिहान पानी पर्ने छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’
गत पुस २३ गतेयता हप्तैपिच्छेजसो पश्चिमी वायु आइरहेको छ। पश्चिमी वायुको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो।
माघ पहिलो साता आएको अर्को पश्चिमी वायुको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो। त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायु नेपाल पसेको थियो। त्यसले माघ ११ र १२ गते वर्षा गराएको थियो। त्यसको प्रभाव नसकिँदै अर्को प्रणालीले गत बुधबारदेखि चिसो बढाएको थियो।

महाशाखाका अनुसार यसपालि आएको पश्चिमी वायुको यो पाँचौं प्रणाली हो।

‘पश्चिमी वायु प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ मौसमविद् सुवास रिमालले भने।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायु भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटरमाथि हुन्छ।

‘निकैमाथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ,’ रिमालले भने,‘मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली मनसुन सुरू नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्