Logo
Logo

भेनेजुयलाबारे मेरो वक्तव्यमा अडिग छु : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


चितवन, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेको दाहालले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको भन्दै अध्यक्ष दाहालले भने, ‘परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’
यही गएको मंगलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उनले बताए । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए ।
साथै कार्यक्रममा दाहालले सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको पनि बताए । उनले भने, ‘सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।’ पत्रकारहरुको एक प्रश्नमा दाहालले सकेसम्म यही महीनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्