जानकी मन्दिरमा अश्लील नृत्य, ग‌ंगाजल छर्केर शुद्ध पार्न सुझाव « Drishti News – Nepalese News Portal
Logo

जानकी मन्दिरमा अश्लील नृत्य, ग‌ंगाजल छर्केर शुद्ध पार्न सुझाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २५ माघ ।

जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरूको पनि आलोचना भएको छ । मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन आजभोलि जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यांगनासँग लिपिस्टिक लगाउँदै छ भनी सामाजिक सञ्जालमा व्यंगात्मक टिप्पणी गरेका छन्।

युवा अभियन्ता दीपक ठाकुरले संस्कार बिगार्ने कार्य गरिएको आरोप लगाएका छन्। उनले जनकपुरधामलाई समाप्त पार्ने छुट कसैलाई नरहेकोसमेत बताए। अर्का युवा ओमविक्रम कुश्वाहाले फेरि गंगाजलबाट जानकी मन्दिरलाई शुद्ध पार्नुपर्छ भनी व्यंग्य गरेका छन्। आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्