Logo
Logo

जनप्रतिनिधिको इच्छा शक्तिले म्याग्दीका सुकुम्वासीले पाए आफ्नै घर


- दृष्टि न्युज/संवाददाता


म्याग्दी, ४ माघ । स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा सिंहदरबार पुगेसँगै नागरिकका स–साना समस्या समाधान गर्न पनि स्थानीय सरकार लागिपरेको देखिन्छ । पूर्वाधार निर्माण मात्र नभई नागरिकका दैनन दिनका समस्या समाधान गर्न पनि जनप्रतिनिधिको भूमिका अहम् हुने गरेको छ ।

म्याग्दीको बेनी नगरपालिकाका तुलबहादुर भण्डारीकाे पुरानाे र अहिलेकाे नयाँ घर

जनप्रतिनिधिको यस्तै, इच्छा शक्ति र सक्रियताले बेघरले घर पाएका छन् । हो, म्याग्दीको बेनी नगरपालिकाको वडा न. ६ का जनप्रतिनिधि र समुदायको पहलमा सुकुम्वासीलाई आवासको व्यवस्थापन भएको छ । ६२ बर्षअघि रघुगंगा गाउँपालिकाको पिप्लेबाट आएका तुलबहादुर भण्डारीले आफ्नै घर पाएका छन् ।

उभिँदा टाउको ठोक्किने, जस्तापाताले छाएको, अव्यवस्थित शौचालय, पिँढी नभएको, साँघुरो र चुहिने अवस्थाको घरमा बसिरहेका भण्डारीलाई नयाँ घर दिइएको छ । वडाका जनप्रतिनिधि र स्थानीय अगुवाको पहलमा जग्गा व्यवस्थापन तथा आर्थिक स्रोत जुटाएर सुकम्वासी भण्डारीको दुई कोठे घर निर्माण गरिएको छ । स्वदेश तथा विदेशमा रहेकाबाट दुई लाख ५९ हजार ५ सय ५३ सहयोग संकलन भएकोमा दुई लाख १६ हजार ७५ खर्च भएको छ ।

भण्डारीको घर बनेको करिव चार आना जग्गा सम्याउन अर्थुङ्गे युनाइटेड क्लवका युवाले दुई दिन श्रमदान गरेका थिए । घर बनाउन बेनी नगरपालिकाले जस्ता पाता उपलब्ध गराएको थियो । स्थानीय अगुवा, सामुदायिक वन र वडाका जनप्रतिनिधिले जग्गा व्यवस्थापन गरेर बेनी नगरपालिका–६ मा यसअघि दुई सुकुम्वासी परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्