Logo
Logo

नेकपा विप्लवको वन्द गलत निशानामा


- दृष्टि न्युज/संवाददाता




माघ २४ गते विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनको शैक्षिक हड्ताल रहेछ । नेपाल व्यापी शैक्षिक हड्ताल भनेको ठुलो कार्यक्रम हो । तर यस्तो कार्यक्रमको माग भने सरकारले उक्त विद्यार्थी संगठनका केन्द्रिय कोषाध्यक्षलाई गिरफ्तार गरेकोमा रिहाइ गरियोस् भन्ने एक सूत्रिय माग रहेछ ।

के एक विद्यार्थी नेताको रिहाईको माग राखेर देश व्यापी शैक्षिक हड्ताल गरिनु सही नीति हो ? के विद्यार्थी संगठनले अरु मागहरु राखेर यस्ता उच्च स्तरका कार्यक्रम नगरेर एक जना विद्यार्थी केन्द्रिय सदश्यको रिहाइ कै लागि मात्र यत्रो ठुलो कार्यक्रम गरिनु सही हो ? विल्कुलै होइन ।

नेपाल भरी करीव ७० लाख भन्दा वढी विद्यार्थीहरु अहिले अध्ययनरत छन् । प्रत्येक घर घरमा एक विद्यार्थी छन् नेपालमा । तसर्थ प्रत्येक विद्यार्थी आन्दोलन भनेको नेपालका प्रत्येक वर्गको आन्दोलन पनि हो । यो आन्दोलन भनेको घर घरमा पुग्ने आन्दोलन हो । तसर्थ विद्यार्थी आन्दोलनका मागहरु विशाल हुने गर्दछ नेपालको सन्दर्भमा । तर विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले उच्च स्तरको आन्दोलन शैक्षिक हडताल गर्दा किन केवल एक जना विद्यार्थी नेतालाई हिरासतवाट छुटाउने मात्रै माग राख्छ ? यो गम्भीर गल्ति हो ।

जसरी सत्ताधारी नेकपाले सही काम गर्न नसक्नाले जनतावाट अलग्गिन थालेकोछ, विपक्षी र विद्रोही नेकपाले पनि आम जनताको वस्तुस्थिति र मनस्थिति अनुसार काम गर्न सकेन भने यो पनि जनतावाट अलग्गिने हुन्छ ।

यसपटक जाडो वढेको, पानी परेको, लामो समय वन्द हडताल नभएको आदि कारणले गर्दा कयौं विद्यार्थीहरुले ब्यंग्य मिश्रित स्वागत गरेको पनि देखियो । कयौं विद्यार्थीहरु हडतालले खुशी भए । सामाजिक संजालहरुमा विप्लव नेकपा र विद्यार्थी संगठनलाई धन्यवाद दिएको पनि देखियो । तर यी सबै हार्दिक धन्यवाद नभएर ब्यंग्य मिश्रित धन्यवाद थिए भन्ने यथार्थ नेकपा र त्यसको विद्यार्थी संगठनले वुझेनन् भने पछि गएर विद्यार्थी र जनसमुदायवाट अलगावमा पर्ने हुनजान्छ ।

विद्यार्थी संगठनले अन्यायपूर्ण दुई खाले शिक्षा प्रणालीको विरुद्ध आन्दोलन गर्न सक्नु पर्दथ्यो । गरिवलाई दिइने सरकारी स्कुलको शिक्षा र मध्यम तथा धनीका छोराछोरीलाई दिइने नीजि वोर्डिङ स्कुलको शिक्षाको दुइ्र्र खाले शिक्षालाई एउटै वनाउन विद्रोही विद्यार्थी संगठनले यस्ता उच्च स्तरिय हडताल गरेको भए राम्रो मानिने थियो । नीजि वोर्डिङ स्कुलको महंगो शुल्कको विषय तथा संविधान अनुसार हुनुपर्ने निशुल्क शिक्षा लागु गराउन यस्ता उच्च खाले शैक्षिक हडताल आयोजना गरिएको भए जनताले कुरा बुझ्ने थिए । तर किन विप्लव नेतृत्वको नेकपा र यसको विद्यार्थी संगठनले यी र यस्ता असंख्य अरु विषयलाई लिएर उच्च खालका संघर्षका कार्यक्रम गर्दैनन् भन्ने विषय गम्भीर विषय हो ।

देश भरि ठुल्ठुला भ्रष्टाचारका काण्डहरु भैरहेकाछन् । सत्तामा रहेका केही मानिसहरु कम्युनिष्टको खोल ओढेर दुई हातले हसुर्न लागेका छन् । यी र यस्ता विषयहरुमा विप्लव नेकपा र यसका विद्यार्थी संगठनले उच्च स्तरको हडताल आदि किन गर्दैनन् र एक नेता छुटाउन किन ७० लाख विद्यार्थीलाई दुख दिन्छन् भन्ने प्रश्न सानो प्रश्न होइन । यसलाई सम्वन्धीत नेता मित्रहरुले गम्भीरता साथ सोच्नु पर्ने विषय हो ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्