Logo
Logo

सञ्चारमाध्यममाथि फेरि खनिए प्रधानमन्त्री ओली, भने- ‘देशको ठूलो समस्या पीत पत्रकारिता हो’


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममाथि फेरि खनिएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले देशको ठूलो समस्या पीत पत्रकारिता भएको बताए । सञ्चार माध्यममा प्रकाशितर प्रशारित हुने सामग्रीप्रति असन्तुष्ट सुनिएका उनले सञ्चार माध्यमले झुटो छाप्ने गरेको बताए ।

प्रधानमन्त्री ओली बेलाबेलामा सञ्चारमाध्यममाथि खनिन्दै आएका छन् । गत पुष २६ गतै पनि विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिएका थिए ।

‘अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो । महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिकार र सञ्चार माध्यमहरु । राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु,’ उनले भने, ‘राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु । राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन् । अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न ।’

उनले अहिले सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको बताए । ‘यो काम राष्ट्रको राष्ट्रको हितको पक्षमा छँदैछैन । कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम। तर कुरा के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ । अथवा जब मान्छे आत्मा बेच्छ । त्यसपछि नर्क पर्छ ।’

प्रधानमन्त्री ओलीले साँचो देशभक्ति हुनुपर्ने बताए । ‘नागरिकताकाे हिसाबले, प्रमाणपत्रको हिसाबले नेपाली त हाेला तर मनको, विचारको, भावनाको हिसाबले जसमा देशभक्ति छैन त्यो के नेपाली ?’ उनले भने, ‘त्यसकारण हामी नेपाली हुनुपर्दछ, नेपाली भएर जिउनुपर्दछ, नेपालको लागि काम गर्नुपर्दछ, हामी कुनै विकाउ बस्तु होइनौं, हामी गरिखान्छौँ, काम गरेपछि पारिश्रमिक लिन्छौँ, भत्ता लिन्छौँ, तर हामी आत्म बेच्दैनौं, हामी साँचो अर्थमा देशभक्ति हुनुपर्दछ, नक्कली देशभक्त होइन ।’

उनले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताए । ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । प्रचण्ड-माधव समूहले पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध कालो बेलुन उडाएको थियो । प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले मन्त्रीहरुलाई कालो झण्डा समेत देखाउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहले कालाे सपना देखेकाे बताए । उनले भने- ‘मलाई दन्तबजान गर्नु छैन । उहाँहरुले कालो झण्डा गाडेर बस्नुभएको छ, काला बेलुन उडाउनु भएको छ, कालो सपना देख्नुभएको छ, कालो मनसाय लिनुभएको छ । केही भन्नु छैन’, ओलीले भने ।

प्रचण्ड र माधव समूहले जनतालाई अनेक हाउभाउ गरेर सिनेमा देखाइरहेको ओलीले टिप्पणी गरे । ‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधाम । हिरोइनी घाइते हुन्छ, हिरो ब्याकुल हुन्छ । रुन्छ । वास्तवमा केही पनि होइन,’ ओलीले थपे, ‘सबै तमासा हो । केही मान्छेहरु सिनेमा देखाउन, नाटक देखाउन आउँछन् । रुन्छन्, झुक्याउँछन् जनतालाई । हामीले त्यस्ता तत्वहरुबाट सजग गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्