Logo
Logo

कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटको भवनमा आगलागी


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, ८ माघ । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।

कोभिड-१९ विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगलागीले कम्पनीको खोप उत्पादनमा भने कुनै असर पर्ने छैन । यो भवन निर्माणधीन रहेको र कम्पनीको खोप उत्पादन केन्द्र भने सुरक्षित रहेकाले कम्पनीको उत्पादनमा कुनै असर नपार्ने अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन । आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ । बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो। सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो । सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ । कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई नेपालमा पनि अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्