जनता नजागे संविधान खरानी « Drishti News – Nepalese News Portal
Logo

जनता नजागे संविधान खरानी


लक्ष्मण देवकोटा


– लक्ष्मण देवकोटा

‘चुँडे राष्ट्रिय दौराका, खुकुला ती तुनाहरु
झिक्दैछन् अब पाखण्डी, तन्त्रमन्त्र टुनाहरु
म हुँ आगो, म हुँ बिजुली, म हुँ बाढी, म हुँ हुरी
हुर्कन्छु अब हुर्रिन्छु, चल्दैनन् ती चुरीफुरी’
– कवि रामचन्द्र भट्टराई

एक्कासौं शताब्दीको ज्ञान, चेतना र वैश्विक समयमा हामी भने निद्रामै छौं । बेलाबेलामा क्रान्तिका ज्वालाले लपेट्छन् र हामी उठ्छौं । टाठाबाठाहरु फेरि सत्तामा पुग्छन्, अनि हामी उनीहरुलाई मनपरी गर्ने छुट दिन्छौं ।

समयले सोधिरहेको छ– आखिर यो कतिन्जेलसम्म ? फेरि एकपटक निद्राबाट ब्यूँझिनुपर्ने बेला आएको छ । सत्तरी वर्ष लामो संघर्ष र बलिदानीपछि सत्तामा पुगेका नेपालका कम्युनिष्टबाट नेपालीलाई ठूलो आशा थियो ।

मनमोहन अधिकारीको नौ महिने शासनको निरन्तरताको परिकल्पना गर्दै रेल र पानीजहाजका सपनाहरुलाई पनि सदर गरिदिएका थिए । ती झूठका पुलिन्दा थिएनन् भन्ने नेपाली जनताको विश्वासलाई प्रधानमन्त्री केपी शर्मा ओलीले छिन्नभिन्न मात्रै होइन, फेरि ब्यूँतिन नसक्ने गरी भीरबाट फाल्दै गरेको दृष्य हेर्न जनता अभिषप्त छन् ।

राजनीतिमा दाउपेच हुन्छ तर, दाउपेच सँगसँगै इमान्दारिता पनि हुन्छ । जुन संविधानसभाको प्राप्तिका लागि हजारौं मानिसले बलिदानी दिए । हजारौं मानिस अंगभंग भए । त्यो केवल संविधानसभा मात्रै थिएन, त्यो वषौंदेखि उत्पीडित, दमित र शोषित नेपाली जनताको मुक्तिको पहिलो खुड्किलो थियो । राज्यमा आवाज हरिएकाहरुको आवाज बुलन्द गर्ने संविधानको पुनर्लेखन थियो । पुरानो भत्काएर नयाँ श्रृष्टि गर्ने सपना थियो । आज त्यही संविधानसभाको उपलब्धिमाथि आफूलाई गरिब, सर्वहारावर्गको प्रतिनिधि बनाउने शासकबाट हरण भएको हेर्न नेपाली जनता विवश छन् । राजावादीहरु ती कम्युनिष्ट भनिएका मानिसहरुले संविधानमाथि धावा बोलिरहँदा हर्षित भएर ओली महाराजकी जय को नाराबाजी गरिरहेको पनि देखिन थालेको छ । ओलीको यो कदम सरासरी पुनरागमन हो । सरासरी प्रतिगमन हो ।

संघिय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेको शक्तिको विकेन्द्रीकरण हो । सिमित सम्भ्रान्तहरुको कब्जामा रहेको राज्यमा जनताको प्रतिनिधित्व हुने व्यवस्थाको नाम गणतन्त्र हो । सिंहदरबारमा केन्द्रित सारा शक्ति र साधन बाँडफाँडको निर्णय गर्ने अधिकारलाई जमीनसम्म पुर्याउने सपना हो । लोप हुँदै गएका भाषाभाषीको रक्षा गर्नुपर्ने, उनीहरुको संस्कृति र संस्कार जोगाउनु राज्यको कर्तव्य हो । सोहीअनुसार योजना तयार गर्ने, बजेट बाँडफाँड गर्ने काम गणतन्त्रमा हुनुपर्छ ।

राजनीतिक दलभित्र, हरेक गाउँपालिका र नगरपालिका भित्र, संसदभित्र महिला, उत्पीडित, दलित र अल्पसँख्यकको उपस्थितिको प्रबन्ध संविधानले गरेको छ । यो किन गरिएको थियो त ? किनभने, भौगोलिक रुपर्मा एकीकृत भए पनि समाजमा उँचनिच, विभेद, अवसरहरुमा पहुँचमा राज्यस्तरबाटै असमान नीतिहरु थिए । समाजमा वास्तविक एकता भएकै थिएन । गरिबका छोराछोरीहरुलाई राज्य संचालनको उपल्लो तहमा पुग्न अप्ठेरो मात्र होइन असम्भवप्राय बनाइएको थियो । चार वर्ण छत्तीस जात भने पनि सिमित मानिसहरुको हातमा राज्यसत्ता थियो ।

त्यही असमानता विरुद्धको जेहादमा विजय प्राप्त गरेका कम्युनिष्टहरु भित्रका केही नवमाझीवादीहरुले त्यही लिखत दस्तावेजमाथि हमला गरेकाछन् । जनताको अपार माया र स्नेहमाथि आफूभित्रको लडाइँका कारण धोका दिनु राजनीतिक चरित्र होइन, अझ वर्गीय समाजमा विश्वास गर्नेले यति ठूलो धोका दिनु महाअपराध हो । आफू असहमत सहयात्रीहरुकै कुरा नसुन्नु, क्रान्तिको यात्रामा लागेकाहरुको मान मर्दन गर्नु, आफूद्वारा प्रशिक्षितहरुलाई अपमानित गर्नु त पूँजीवादी चरित्रभित्र पनि पर्दैन । यो घोर सामन्ती सोच हो । कम्युनिष्टको भर्याङ चढेर सत्तामा पुगेका केही हठी र मूढीहरुको बदमासीको मूल्य आम नेपाली जनताले चुक्ता गर्नुपर्ने देखिएकोछ ।

एकता हुँदा नभएको शक्ति टुक्रिएपछि कसरी हुन्छ ? ‘संघे शक्ति कलौ युगे’ त्यसै भनिएको कहाँ हो र ? देखियो त भर्खरै, परराष्टमन्त्री प्रदीप ज्ञवाली निकै तामझाम र होहल्ला गर्दै भारत गए । कालापानी, लिम्पियाधुरा र लिपुलेक सर्लक्कै फिर्ता गर्ने अभियान चलाएकै कारण आफूलाई काम गर्न नदिएको भन्ने भ्रमपूर्ण जिकिर गरिरहेका ओलीले परराष्टमन्त्री मार्फत् भारतीय पक्षसँग कुरा हुने बताए । ओलीभक्तहरुले बेजोडसँग ताली बजाए पनि । सभाहलहरुमा सिठ्ठी बजे । अन्ततः जमिन फर्काउन ओलीको चिठ्ठी बोकेर दिल्ली गएका सार्वभौम मुलुकका परराष्ट्रमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट समेत दिएनन् । हामीकहाँ एउटा भारतीय गुप्तचर बालुवाटारमा घण्टौँ गफिन सक्छ, विदेश सचिव राष्ट्रपतिकहाँ उपरखुट्टी लगाएर गफ गर्न सक्छ तर, हाम्रा परराष्टमन्त्रीले मोदीसँग भेट समेत पाउँदैनन् ।

अझै पनि ओलीले गुमेको नेपाली भूभाग फिर्ता ल्याउँछन् भनेर कसैले भ्रम पालेको छ भने, त्यो केवल उसको मूर्खता मात्रै हो । जमीन र नेपाली संवेदनामाथि खेलवाड गरेर ओलीले बदमासी गरिरहेकाछन् ।

वामपन्थी कित्ताबाट ओली दक्षिणपन्थी विचारधारा अर्थात् नवमाझीवादी बाटोमा लागिसकेका छन् । वामपन्थी कित्ताबाट ओली पलायन हुँदैमा नेपालको वामपन्थी आन्दोलन रोकिनेवाला छैन । यो कुरा न्यायप्रेमी जनताले बुझेका छन् । जसले बुझेका छैनन, बुझाउनुपर्ने छ । बुझेर बुझ पचाउनेहरु इतिहासको कालखण्डमा आफैँ पाखा लाग्नेछन् ।

हामी कतिसम्म मूर्ख भइरहने ? आजको यक्ष प्रश्न यो हो । अदालती भाषा र बहसलाई अदालतमै छाडौं । फुटेर शक्ति प्राप्त हुन्छ भन्ने कुरा सही होइन भन्ने कुरा त वामदेव गौतमको नेतृत्वमा माले गठन हुँदा नै देखिएको हो । देशभित्र मिल्दा एकता हुन्छ र आफ्नै दल चिरा पर्दा छिमेकीले समेत हेप्छन् भन्ने कुरा त भर्खरै भारतले देखाइदियो । हुँदाखाँदाको शक्तिलाई हुँदै नभएको संविधानको धाराको दुहाई दिएर जनमतको अपमान गर्नु गलत हो भन्ने कुरा मतदाताले बुझ्नु नै पर्ने हुन्छ ।

अस्तिसम्म घाँटी जोड्दा मित्र रहेको, यौटै जहाजको पाइलट भएको मान्छे रातारात कसरी राक्षस हुन्छ ? आफू अनुकूल भए सज्जन, आफू प्रतिकूल भए दुर्जन कसरी हुन्छ ? पाँच वर्षसम्म राम्ररी काम गर्न पाइन भन्ने प्रधानमन्त्री ओलीले के–के काम गर्न पाएनन् ? भनेर जनताहरुले सोध्नुपर्ने हुन्छ । तपाईंलाई हतार–हतार अमेरिकी सहयोग एमसीसी, जसबारे नेपालले प्रश्न समेत गर्न पाउँदैन, त्यही पास गर्ने हतारो किन आइलाग्यो ? जनताहरुले सोध्नुपर्छ । आफ्नो शक्ति र पहुँचका प्रभावमा पारेर निर्वाचन आयोग र अदालतका कामलाई तपाई किन प्रभावित पारिरहनुभएको छ ? भनेर सोध्नुपर्छ ।

हुन त सत्यको बाटोमा हिंड्न असाध्यै गाह्रो हुन्छ । अहिले देशमा सत्तासिन ओली र ओली गुटको गिड्गिडाहट छ । ओली गुट नैतिक मर्यादा र मान्यताका सबै पर्खाल भत्काएर सहकर्मीको तेजोबध गर्न उद्यत छन् । सहकार्य, मैत्रीभाव र आदर यी सबै कुराको अन्त्य भएको छ ओलीको डायरीबाट । न्यूनतम मानवीय संवेदनाका सबै पर्खाल तोडेर अहिले ओली पूरै कमेडी च्याम्पियन बन्ने धुनमा छन् । हनुमानहरु ताली पिट्छन् । वातावरणलाई थप उत्तेजित पार्छन् ।

अनि ओली उत्तेजित भएर कमेडी प्रहसनमा उत्रिन्छन् । प्रधानमन्त्रीज्यू, देश कमेडीले चल्दैन । तपाईंले गलत पेशा रोज्नुभयो । हिजो पञ्चायती राजशाहीका विरुद्ध लडेका, जनताले प्रिय ठानेका योगेशहरुलाई कसरी केटो भनेर तेजोबध गर्न सकिन्छ ? ओलीभित्र हुर्किएको यो सामन्ती ‘बा’ संस्कार कम्युनिष्टहरुको आचरणको कहीँकतै मेल खाँदैन । मदन भण्डारीको नाममा गुट चलाउँदैमा कोही मदनपथमा लागेको हुँदैन । के यही हो ओलीको सहयात्रीहरुप्रतिको सम्मान भनेर सोध्नुपर्ने भएको छ जनताहरुले ।

प्रधानमन्त्री ओलीका लागि अब बालकृष्ण न्यौपाने र विष्णु भट्टराईजस्ता राजावादीहरु प्रिय लाग्न थालेका छन् । हिजो अप्ठेरो समयमा सहयोग गर्ने कानूनविद र संविधानविज्ञ कसैले पनि ओलीको कदमलाई सही भनेकै छैन । क्रमशः वामपन्थी कित्ताबाट ओली दक्षिणपन्थी विचारधारा अर्थात् नवमाझीवादी बाटोमा लागिसकेका छन् । वामपन्थी कित्ताबाट ओली पलायन हुँदैमा नेपालको वामपन्थी आन्दोलन रोकिनेवाला छैन । यो कुरा न्यायप्रेमी जनताले बुझेका छन् । जसले बुझेका छैनन, बुझाउनुपर्ने छ । बुझेर बुझ पचाउनेहरु इतिहासको कालखण्डमा आफँै पाखा लाग्नेछन् । वामपन्थीको भर्याङ चढेर अब उनको हातको खड्ग आफ्नै सहकर्मीतिर बज्रिने तयारीमा लागेको आभास हुन थालेको छ ।

हजारौँ शहीदको रगतको बदलामा आएको यो संविधानको रक्षार्थ ओलीको सर्वसत्तावादको विरुद्ध एकजुट भएर संघर्षमा जुट्नुपर्ने भएको छ । राज्यका हरेक अंगलाई कठपुतली बनाउने उनको प्रयास सफल हुन दिनुहुँदैन । संकेतहरु गतिला छैनन् । जनता नजागे भएको उपलब्धिहरु पनि गुम्नेछन् । जागौँ, ढिलो भइसक्यो ।

प्रतिक्रिया दिनुहोस्