Logo
Logo

प्रहरीलाई अर्काे धक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा जागिरको ‘चार्म’ घट्दो छ । एकातर्फ कमाउन र नेतालाई खुशी बनाउन नसके करिअर चौपट हुन्छ अर्काेतर्फ अवसरहरु पनि कम हुँदै गएका छन् ।
प्रहरी अधिकारीका लागि शान्ति मिसन ठूलो अवसरका रुपमा लिइन्छ । शान्ति मिसनमा जान थालेपछि नै प्रहरीमा केही हदसम्म भ्रष्टाचार घटेको ठानिन्छ ।
तर, संगनठको संख्या ठूलो भइरहँदा शान्ति मिसनका अवसर भने घट्दै गएका छन् । नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन पनि दुई महिनापछि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताका लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट रद्द गरिएको छ । हाल हाइटीको एफपीयू मिसनमा १ सय ४० प्रहरी खटिन्छन् ।
हाइटीमा द्वन्द्व समाधानउन्मुख भएकाले राष्ट्रसंघले शान्ति सेनालाई कटौती गर्दै लगेको हो । सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’ अन्तर्गत कोटा कटौती भइसकेको छ । क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ । एफपीयू हाइटीमा हालसम्म ३ हजार ७० प्रहरीले काम गरिसकेका छन् । हाइटी र सुडानमा गरी नेपाल प्रहरीका दुईवटा मात्र एफपीयू मिसन छन् । हाइटी बन्द भएपछि सुडान मिसन मात्र हुने भएकाले राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर प्रहरीका लागि कम हुने भएको छ ।
उता सशस्त्र प्रहरीलाई भने राष्ट्रसंघले तेस्रो एफपीयू मिसन दिन लागेको छ । तर, नेपाल प्रहरीको यसमा लबिङ पुगेको छैन । राष्ट्रसंघकै मुख्यालयमा काम गरेर फर्किएका सर्वेन्द्र खनाल आईजीपी हुँदा पनि मिसन बढाउन प्रहरी असफल भएको छ ।
तीन वर्षअघि नै राष्ट्रसंघले अर्काे एफपीयू मिसन जाने प्रस्ताव गरे पनि सामान किन्न नसक्दा गुमेको थियो ।
अनपोल मिसन अन्तर्गत पनि परीक्षा पास गरेर बसेका प्रहरी अधिकारीहरुसमेत जान पाएका छैनन् । अनपोल मिसनमा पनि कोटा संख्या घट्दा अवसर कम भएको हो । केही पावरफूल प्रहरी अधिकारी भने कंगो मिसनका लागि छनोट हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्