फिल्ममा हँसाउनेहरु मालामाल « Drishti News – Nepalese News Portal
Logo

फिल्ममा हँसाउनेहरु मालामाल


एमपी सुब्बा


काठमाडौं । एक समय नेपाली फिल्ममा रोनाधोना खुबै बिक्थ्यो । त्योबेला हँसाउनेलाई ‘चङ्खे’को उपमा भिराइन्थ्यो । तर, अहिले त्यही ‘चङ्खे’हरुको राज चल्दैछ नेपाली फिल्म क्षेत्रमा ।
नेता गणेशमान सिंहले भनेजस्तै, त्योबेला फिल्मकर्मी ‘भेडा’ भए । रुने र रुवाउने फिल्म बिकेको देखेपछि फिल्मकर्मीमा त्यो समय ‘कसले बढी दर्शक रुवाउने’ भन्ने लहर नै चल्यो । तर, त्यो लहर खहरे जस्तो बन्यो । किनकि आफ्नो फिल्म ‘हिट’ बनाउनलाई पनि फिल्मकर्मीले जर्बरजस्त मित्रदार मसला घुसाउन थाले । त्यसले गर्दा सबै एउटै धार र खालका नेपाली फिल्म बने । र, दर्शक वाक्क भए । यस्ता फिल्मबाट अझै वाक्कै छन् दर्शक ।

‘सामाजिक तथा सन्देशमूलक फिल्म चल्दैन भने म किन त्यस्तो फिल्म बनाउँ’ केही समयअघि हास्य अभिनेता दिपकराज गिरीले सार्वजनिक कार्यक्रममै बोलेका थिए, ‘यहाँ जे बिक्छ, त्यसैको पछि लाग्ने हो ।’

कुरा ६० को दशकतिरको हो । तर, अहिले नेपाली फिल्मको कथा फेरिएको छ, दर्शकको सोच बदलिएको छ । दर्शक रुन चाहँदैनन्, उनीहरु हाँस्न चाहन्छन् । जसले गर्दा कमेडी फिल्म चल्न थालेको छ अर्थात ‘कमेडी’ बिकिरहेको छ । रुने फिल्मबाट वाक्क दिक्क भएका दर्शक हँसाउने फिल्ममा झम्न थालेपछि पहिले ‘चङ्खे’ भनिएका कलाकार मालामाल भएका छन् । तर, दर्शकलाई पुरानै धार र स्वाद चख्वाउने प्रयत्न खोज्नेहरु पनि पत्तासाप हुँदै आएका छन् ।
पुराना फिल्मकर्मी, जो आफूलाई नेपाली फिल्म क्षेत्रको ‘बादशाह’ सम्झिनेहरुको अहिले नाम निशाना पाइँदैन । तुलसी घिमिरे, युवराज लामा, यादव खरेल, शम्भू प्रधान, विनोद मानन्धर, उद्धव पौडेलजस्ता पुराना फिल्मकर्मीहरुको नाम हिजोआज फिल्मकर्मीले नै बिर्सन थालेका छन् । जबकि एक समय यिनै नामहरु नेपाली फिल्म क्षेत्रका लागि काफी थिए । तर, धार परिवर्तन गर्न नसक्दा उनीहरु आफ्नो अस्तित्व निमिठ्यान्न गर्ने डाइनोसर जस्तै फिल्म क्षेत्रबाट लोप हुने अवस्थामा पुगे ।
नेपाली फिल्म क्षेत्रमा देखिएको नयाँ उदय र परिवर्तनलाई अझै उनीहरु स्वीकार्दैनन् । ‘फिल्म भनेको सन्देशमूलक हुनुपर्छ’ अहिले पनि तुलसी घिमिरे, शम्भू प्रधानहरु यस्तै भन्छन् । एक दशकपछि केही वर्षअघि शम्भू प्रधान फिल्म ‘रंग बैजनी’मार्फत देखिएका थिए । त्यतिखेर उनी भन्थे, ‘फिल्म भनेको रंग बैजनी हुनुपर्छ । जसमा सन्देश, रोमान्स, एक्शनलगायतका बैजनी हुनुपर्छ ।’ तर, आफ्नो फिल्ममा बैजनी रंग घोलिन नपाउँदै उनी पुनः हराए । ‘बिकाउ’ अर्थात दर्शकको मर्मलाई नजिकबाट नियाल्न नसक्दा फिल्मकर्मी मात्र नभएर कलाकार पनि डुब्छन् । रोनाधोना फिल्मका समेत वितरण गर्दै आएका सुनिल मानन्धरले एक प्रशंगमा भने, ‘बिकाउ कथा रोज्ने काम निर्माता र निर्देशकको हो । हामी त्यसलाई सेलमा राख्ने हो । तर, त्यो कुरा पुरानाले नबुझ्दा नयाँले चान्स पाएका छन् ।’
‘सामाजिक तथा सन्देशमूलक फिल्म चल्दैन भने म किन त्यस्तो फिल्म बनाउँ’ केही समयअघि हास्य अभिनेता दिपकराज गिरीले सार्वजनिक कार्यक्रममै बोलेका थिए, ‘यहाँ जे बिक्छ, त्यसैको पछि लाग्ने हो ।’ हुन पनि दिपकराज समूहले बनाएको हरेक फिल्म बिक्दै आएको छ । ‘छक्का पञ्जा’ सिरिज मात्र नभएर ‘वडा नम्बर–६’ जस्ता फिल्मले नेपाली फिल्मको बक्सअफिसमा आगो बाल्न सफल भए । अभिनेता दिपकराज र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘कमेडी जनारा’लाई समातेपछि नै नेपाली फिल्म क्षेत्रमा ‘करोड क्लव’को ट्रेण्ड पनि बस्यो । ‘छक्का पञ्जा’मार्फत सफल सिरिज निर्देशक कहलिएकी दिपाश्री निरौलाको भनाइलाई सापटी लिने हो भने ‘यहाँ कोही रुन चाहँदैनन् किनकि नेपालीमा खुसी भन्दा बढी पीडा छ ।’ यही बुझाइले गर्दा हास्य कलाकारका रुपमा स्थापित गिरी र निरौला जोडी आज नेपाली फिल्म क्षेत्रमा सफल भएका छन् ।
सन्देशमूलक फिल्म बिक्दैन अर्थात दर्शकले रुचाउँदैन भन्ने पछिल्लो उदाहरण बनेको छ फिल्म ‘गोपी’ । नेपाली फिल्मले करोडमाथिको कारोबार गरिरहेको अवस्थामा ‘गोपी’ लाखमै सिमित भयो । नेपाली फिल्मका समीक्षक तथा लामो समय रंग पत्रकारितामै रमाएका दिपेन्द्र लामा निर्देशित ‘गोपी’ अघिल्लो सातामात्र सिनेमा हलमा रिलिज भएको थियो । एक गाई पालकको कथा र मर्मलाई चित्रण गरेर बेरोजगार युवामाझ स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने फिल्मबाट सन्देश दिन खोजेका निर्देशक लामा अन्ततः पछिल्लो दर्शकको घानमा नराम्ररी परे । उनले फिल्मबाट वाहवाही र ताली पाएपनि लगानी फिर्ता गर्न सकेनन् । फिल्मबाट राज्यको विद्यमान बेरोजगारीको सवाललाई उजागर गरेर युवामा सन्देश प्रभाव गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्ट र कृषिमन्त्री चक्रपाणि खनालले समेत ‘गोपी’को तारिफ गरेका थिए । ‘गोपी’ मात्र नभएर पछिल्लो पाँच वर्षयता कुनै पनि सन्देशमूलक र सामाजिक फिल्मले आफ्नो लगानी उठाएको उदाहरण छैन । र, फिल्ममा सन्देश मिश्रण हुनैपर्छ भन्ने मनोभाव भएका निर्माता तथा निर्देशकहरु दिनदिनै पेसा छाडेर भाग्नु पर्ने अवस्था आइरहेको छ ।
हुन पनि फिल्म मनोरञ्जनका लागि हेरिन्छ । तर, मनोरञ्जनसँगै सन्देश, सीप र ज्ञान मिश्रित हुनुपर्छ भन्ने झिनो सोच समेत अहिले हराउँदै गएको छ । जबकि नेपाली फिल्म क्षेत्रमा ‘कबड्डी’जस्ता बिक्दै आएको छ भने ‘पुरानो डुंगा’ जस्ता फिल्म फ्लप भइरहेका छन् । एउटै निर्देशक राम गुरुङले बनाएको फिल्म हो, ‘कबड्डी’ र ‘पुरानो डुंगा’ । तर, ‘कबड्डी’जस्तो कमेडी फिल्मले दयाहाङ राईलाई नेपाली फिल्म क्षेत्रमा स्टारका रुपमा स्थापित ग¥यो भने पीडा र आँशु उनेको ‘पुरानो डुंगा’ले स्थापित भइसकेका कलाकारलाई समेत पछाडि धकेल्यो । एउटा फिल्म हिट भयो भने निर्माता मात्र नभएर कलाकारलाई समेत फाइदा हुन्छ । त्यसैको फाइदा लिँदै आएका कमेडी कलाकारहरु अहिले नेपाली फिल्म क्षेत्रमा स्टार कहलिएका छन् । तर, राजेश हमाल, भुवन केसी जस्ता मूलधारमै एक समय जमेका स्टारहरु थन्किएका छन् । उनीहरुलाई अहिलेको अवस्था आउला भन्ने साय सोचेको समेत थिए । उनीहरुले ‘चङ्खे’ उपमा भिराएका हास्य कलाकारहरुको यहाँ भाउ बढ्दै गएको छ । अझै कति समय नेपाली फिल्म क्षेत्रमा ‘चङ्खे’हरुले राज गर्ने हुन् । त्यसको आँकलन फिल्मकर्मीसँग पनि छैन ।

प्रतिक्रिया दिनुहोस्