Logo
दृष्टिकोण

पश्चिम बंगालमा किन पतन भयो कम्युनिष्ट ?


लक्ष्मण देवकोटा


वामपन्थी आन्दोलनमा लामो योगदान दिएको भारतको पश्चिम बंगाल राज्यका कम्युनिष्ट नेता सुभाष चक्रवर्तीले सन् २००६ मा दिएको विवादास्पद बयान धेरै अखबारहरुमा छापिएको थियो । उनले भनेका थिए– ‘म आज गर्वकासाथ भारतभर जहाँ गएर पनि भन्छु कि पहिला म हिन्दू हुँ । त्यसपछि ब्राम्हण । अनि कम्युनिष्ट ।’

जीवनको सारा ऊर्जा कम्युनिष्ट आन्दोलनमा बिताएका, राज्यका मुख्य जिम्मेवारीहरु सम्हालेका र उच्च शिक्षा हासिल गरेका जिम्मेवार नेताको यो अभिव्यक्ति भारतीय सञ्चारमाध्यममा आगोझैं फैलियो ।

त्यतिबेला वामपन्थी विश्लेषकहरुले लेखे, ज्योति बसुले कहिल्यै नफेरेको हँसिया हथौडाको झण्डा बुद्धदेव भट्टाचार्यले पनि फेरेनन् । अब जनताले त्यो झण्डा उखेल्नेछन् । वैचारिकरूपमा माक्र्सवादीहरुको पतनको अभिव्यक्ति थियो चक्रवर्तीको भनाइ ।

यो कुनै अस्वाभाविक पनि थिएन । नभन्दै बुद्धदेव भट्टाचार्यको विरासतलाई ममता वेनर्जीको तृणमूल काँग्रेसले बढारिदियो । अहिले भारतीय जनता पार्टीको सियारामको झण्डा वेनर्जीको काँध पुगेको छ । सबैकी दिदी वेनर्जीको अगाडि कम्युनिष्टहरु पत्तासाफ भएका छन् ।

गणतन्त्र भारतको इतिहासमै सबैभन्दा लामो समय मुख्यमन्त्रीको रुपमा शासन गर्ने ज्योति बसु जसले, २३ वर्ष १७७ दिन पश्चिम बंगालमा शासन गरे । कम्युनिष्ट सरकार जसले लगातार ३४ वर्ष पश्चिम बंगालमा राज गर्यो । आज त्यो पत्तासाफ नै भएको छ ।

आफ्नै आँखा अगाडिको घटनाबाट पनि दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको चेत खुलेन । र, नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न संसद् विघटन गरे ।

पश्चिम बंगाल मात्र होइन, लामो समय शासन गरेको शिक्षित नागरिकको बसोबास रहेको केरल राज्यको पनि उही हविगत छ । युवा कम्युनिष्ट भन्ने शब्द सुन्न छोडेका छन् ।

पश्चिम बंगालमा त गाउँकागाउँ नागरिक भारतीय जनता पार्टीको ‘हरहर मोदी, घरघर मोदी’को नारा लगाउँदै मोदीपन्थमा लागिरहेका देखिन्छन् ।

किन यस्तो भइरहेको छ त ? लामो अध्ययनपछि राजनीतिशास्त्रका शोधकर्ताहरुले भनेका छन्, सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफू कम्युनिष्ट हुँ भन्ने बिर्सिए । उनीहरु साँघुरो घेरामा रमाउँदै जान थाले । जनतामा गरेका वाचाहरु बिर्सिए । जमिन र नेताबीचको तार टुट्यो । जब जमिन टुट्यो, उनीहरुसँग जनता टाढिए ।

जीवनमा धेरै वर्ष कम्युनिष्ट भएर गाउँगाउँमा धेरै वर्ष दुःख गरे तर, नेतृत्वले जमिनको वास्तविक समस्यालाई वास्तै गरेन । शिक्षा र जनताको स्वास्थ्यमा कुनै सुधार भएन । उपचार नपाएर नागरिक मर्न थाले । धनीहरुलाई सुलभ शिक्षा भयो, गरिबहरु जहाँको त्यहीँ भए । असमानता यथावत भयो । तैपनि सुध्रिन्छ कि भनेर जनताले कुरिरहे, अहँ केही परिवर्तन भएन । बरु भ्रष्टाचार बढ्दै गयो । बेथिति चुलिँदै गयो । अन्ततोगत्वा जनताको मोहभंग भयो र उनीहरुले कम्युनिष्टहरुलाई उठ्नै नसक्ने गरी पछारिदिए ।

त्यतिबेलाको पश्चिम बंगालको अवस्था र दुईतिहाइ बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टीको शासन तुलना गर्दा समानता भेटिन्छ । पश्चिम बंगालमा कम्युनिष्ट उदयको पछाडि नेताहरुको स्वच्छ छवि, नागरिकसँग भिज्ने क्षमता र देश दुनियाँ बुझेका मानिसहरुको नेतृत्व नै प्रमुख कारण हो ।

शिक्षा र स्वास्थ्यबाहेक कम्युनिष्टहरुले अर्को महत्वपूर्ण मुद्दा उठाएका थिए, जसको जोत उसको पोत । जमिनदारहरुको हजारौं एकडका मालिक थिए भने कोही रेल पटरीको छेउमा रात गुजार्न विवश थिए । वेनर्जीहरुले यही नारालाई उछाले । कम्युनिष्टहरुले पनि सत्ताको स्वादमा यो मुद्दा बिर्सिसकेका थिए । अन्ततः जनता अझै कतिसम्म भ्रममा बाँचिरहने भनेर ब्यालेट बक्समा विद्रोह गर्ने निश्कर्षमा पुगे ।

सत्ताको खेलोमा लागेपछि चुनावी टिकटको किनबेच शुरु भयो । नेताहरुलाई चन्दा दिनेले टिकट हत्याउन थाले । चुनावमा अकूत धनको खर्च हुन थाल्यो । कम्युनिष्टको नाममा गैरकम्युनिष्टहरुको हालीमुहाली चल्न थाल्यो । संगठन विस्तार, सदस्यता वृद्धि, वैचारिक बहस, युवालाई प्रशिक्षण यी सबै कुरा नेताहरुले बिर्सिए । पार्टी पाटी भयो ।

तत्कालीन महासचिव प्रकाश करातले लेखे– ‘हामीहरुलाई जनताले उठबस गराए । अझै पनि हामी सच्चिएनाँै भने इतिहासमा हाम्रो नामोनिशान रहने छैन । गल्ती अन्यत्र होइन, हामीभित्रैबाट भएको छ । पराजयको कारक हामी नै हौँ ।’ सीताराम यचुरीसमेत यतिबेला जनतासँग जानको निम्ति कार्यकर्तालाई आह्वान गरिरहेका भेटिन्छन् ।

विज्ञान प्रविधिले यति ठूलो फड्को मारेको बेला आफू सत्तामा छँदा बितर्किएका कार्यकर्ता फेरि कहिले फर्कने हुन् ? हिन्दूत्वको नाममा लोकप्रियतावादको जहाजमा शंख, घण्ट बजाउँदै हिन्दू बाहुल समाजमा तामझामका साथ आएको मोदीपन्थको हिन्दू राष्टवादसँग छिन्नभिन्न भएका यी कम्युनिष्टहरु कसरी लड्ने हुन् ? यो पनि त्यति सजिलो र सहज देखिँदैन । सत्तामा छँदा बिर्सिएका जनताहरुले फेरि माफी कहिले दिनेहुन् ? यो बाटो कष्टैकष्टको हुने निश्चित प्रायः छ ।

केपी ओलीलाई लागिरहेको छ– ‘अब माक्र्सवाद लेनिनवादलाई बिदावारी गरेर रामनाम जप्दै राजावादी हिन्दूवादीहरुलाई समेटेर पनि उनी नेपाली राजनीतिको केन्द्रमा रहिरहन सक्दछन् ।’ त्यसो गर्न उनलाई छुट छ तर कम्युनिष्ट पार्टीको झण्डा ओडेर लोकप्रियतावाद, नवउदारवादी पूँजीवाद र धार्मिक राष्ट्रवादको व्यापार गर्ने छुट उनलाई छैन ।

प्रकाश करात, हरकिसन सिं सुरजितजस्ता भारतीय कम्युनिष्ट आन्दोलनका अगुवा, नेपाली कम्युनिष्टहरुका मित्रले नेपालमा कम्युनिष्ट पार्टीको संगठन विस्तार भएकोमा निकै खुशी व्यक्त गर्दथे । नेपालका कम्युनिष्टहरुको मुक्तकण्ठले प्रशंसा गर्दथे । भाइचाराको न्यानो प्रेम थियो दुवैतिर । तर, दूर्भाग्य भारतका जानेमाने कम्युनिष्ट नेताहरु यसबखत पराजयको धुलो टक्टक्याउँदैछन् । जनताद्धारा नपत्याइएपछि प्रायश्चित गर्दै वस्तीवस्तीमा जानु उति सहज छैन ।

साँध जोडिएको छिमेकमै कम्युनिष्टहरुको यो कन्तविजोग सत्ताधारी नेपालका स्वघोषित वीरपुरुष केपी शर्मा ओलीले देखेनन् । उनको मन मष्तिस्कमा बरु मोदीको लोकप्रियतावाद हावी भयो । देख्नुपर्ने ज्योति बसुहरुको पत्तासाफ थियो, ओली र उनको कोर टिमले मोदीको प्रभाव देख्यो ।

भारत, ब्राजिलदेखि विभिन्न अफ्रिकी मुलुकहरुमा उदय भइरहेको लोकप्रियतावादको रंगीन सपनामा ओलीले माक्र्सवाद, लेनिनवादलाई तिलाञ्जली दिएर असमयमै संसद्को हत्या गरे । उनी अझै आफूलाई मदन भण्डारीको सच्चा अनुयायीको रुपमा व्याख्या गरिरहेका छन् ।

छिमेकको यो दुर्गति देखेर कुनै पाठ नसिक्ने, पार्टी पद्धतिभन्दा आफू, एक्लो व्यक्तिलाई सर्वेसर्वा ठान्ने र सबै बराबर भन्ने अन्तर्राष्ट्रिय कम्युनिष्ट मान्यतालाई तिलाञ्जली दिएर ‘जबज’को व्याख्या गर्नु वास्तवमा मदन भण्डारीप्रतिको अपमान नै हो ।

बहुमतको शक्तिलाई वडा तहसम्मै छिन्नभिन्न पारेर, वल्लो घर र पल्लो घरमा मिलेर बसेका एउटै दलका कार्यकर्ताको बीचमा काटमार गराएर ओलीले यो मुलुकमा समाजवाद ल्याउँछन् भनेर कुन मुर्खले पत्याउँला ?

सत्ता, सेना र पुलिसको आडमा एकछिनको चमकधमक भए पनि नीति, सिद्धान्त र आस्था, जनताको अभिमत सबैलाई कुल्चिएर कुनै पनि व्यक्ति कम्युनिष्ट नेता हुन सक्दैन । त्यत्रो लामो राजनीतिक इतिहास, भारतीय नाकाबन्दीको बेलाको अडान सबैलाई उनको यो पछिल्लो कर्मले वाग्मतीमा बगाइदिएको छ ।

ओलीको संविधानविरोधी कदमका पर्दाहरु विस्तारै खुल्दैछन् । राजावादी वकिलहरु ओलीको छनोटमा प्रतिनिधिसभा विघटनको पक्षमा बहस पैरवी गर्न खटाइएका छन् । राजावादी र ओलीवादीको एकै स्वर सुनिन थालेको छ ।

उत्तराञ्चल, विहार, उत्तरप्रदेश, पश्चिम बंगाल, असममा उर्लिएको भारतीय जनता पार्टीको लहर हेरिरहेका छन् । उनलाई लागिरहेको छ– ‘अब माक्र्सवाद लेनिनवादलाई बिदावारी गरेर रामनाम जप्दै राजावादी हिन्दूवादीहरुलाई समेटेर पनि उनी नेपाली राजनीतिको केन्द्रमा रहिरहन सक्दछन् ।’ त्यसो गर्न उनलाई छुट छ तर कम्युनिष्ट पार्टीको झण्डा ओडेर लोकप्रियतावाद, नवउदारवादी पूँजीवाद र धार्मिक राष्ट्रवादको व्यापार गर्ने छुट उनलाई छैन ।

जनतामाथिको विश्वासलाई घात गरेका ओलीमाक्र्सवादको नाममा दलाल पूँजीवाद र साम्राज्यवादीहरुको सेवा गरिरहेका छन् । कार्यकर्ताले पनि बुझ्नुपर्ने कुरा यो हो । पश्चिम बंगालको कम्युनिष्ट आन्दोलनको विघटनबाट सिकेनन् भने नेपालका कम्युनिष्टहरु पनि भोलि इतिहासको पानामा सीमित हुन कत्तिबेर लाग्दैन ।

 

मदनपोखरा पाल्पा

हाल : जेनेभा, स्विटजरल्याण्ड

[email protected]

 

प्रतिक्रिया दिनुहोस्