Logo
Logo

हङकङ बुझ्ने आँखीझ्याल


- छविरमण सिलवाल


  • छविरमण सिलवाल

म यतिबेला हङकङभित्र भिजिरहेकोछु । क्रान्ति सुब्बालाई मैले पहिलोपटक पढिरहेकोछु । सामाजिक सञ्जालमार्फत उनको नाम र फुटकर सिर्जनाहरु पक्कै पढेको थिएँ, तर पुस्तकको आकारमा भने पहिलोपटक हङकङभित्र क्रान्ति सुब्बालाई पढिरहेको छु, हङकङ बुझिरहेको छु ।

हङकङलाई उनी आफ्नो दोस्रो नेपाल ठान्छन्, र कर्म थलो हङकङका बारेमा केही शब्दहरु खर्च गरिरहेका छन् । र, नेपाली साहित्यका पाठकहरुकामाझँ एउटा बौद्धिक कृति पस्किएका छन् । प्राचीन चिनियाँ परम्परामा गहिरिएर बगेको पूर्व र पश्चिम पुरातनता र आधुनिकताको उच्चतम संगम थलो हङकङका महासागरीय उपत्यकाका कान्लाहरुमा नेपाली चाँप, गुँरास र सयपत्रीहरु उमारी रहेका छन् । त्यसैले पनि उनी हङकङ लाई दोश्रो नेपाल ठान्छन् । आजको आधुनिकताको उच्चतम संगम थलो त्यसै बनेको होइन, हङकङ, यसले अतितका शताब्दीहरुमा धेरै प्राकृतिक विपत्ति र अनगिन्ती वित्यासपूर्ण अँध्यारोले भरिएका रातहरुसंग सामना गर्नु परेका दुःखद क्षणहरुलाई हङकङभित्र पुस्तकमार्फत केलाउँन खोजेका छन् ।

हङकङभित्र लेखि रहँदा उनी कहिले गोपाल पराजुलीको नयाँ इश्वरको घोषणाको प्रसंग ल्याउँछन्, कहिले नारायण वाग्लेको पुस्तक पल्पसा क्याफेका बारेमा लेख्छन्, कहिले जगदिश घिमिरेको पुस्तक अन्र्तमनको यात्रासंग सम्वाद गरिरहेका हुन्छन् । नेपाली साहित्यमामात्र नभइ विश्व साहित्य र धार्मिक पुस्तक अध्ययन गरेको प्रष्ट हुन्छ, दीपक चोपरा, बाइवल, श्री कृष्णका वाणीहरु, बुद्धका दर्शन, केनोपदेष, शंखराचार्य, एरिस्टोटल, विश्वात्मा लगायत थुप्रै दर्शनशास्त्रको प्रसंगले पुस्तकलाई गहकिलो बनाएको छ ।

उनी पुस्तकमा लेख्छन्– हङकङको भूगर्भ खोतल्दा पृथ्वीकै गर्भ पनि छिटपुट उत्खनन् भएको छ । पृथ्वीमा घटित जीवविकासको इतिहासलाई बहुमुखी कोणबाट हेर्ने प्रयास गरिएको छ । अस्तित्वलाई आध्यात्मिक र वैज्ञानिक विश्लेषणको कसौटीमा घोेटेर आफ्नै किसिमको सर्वतत्व सिद्धान्त निकाल्न पाठक वर्गलाई उद्धेलित गराओस् भनेर तत् विषयमाथि गरिएको केही विचारोत्तजक टिप्पणीलाई पनि समेट्ने प्रयास गरेकोछु ।

हङकङभित्र लेखिएका नियात्राहरु तिन खण्डमा विभाजित छन् । खण्ड एकमा म्याक्लेहोस ट्रेलमा, सांग्रिलामा हराउँदा, पृथ्वीको छेउतिर बरालिँदा, एकलासमा रुमल्लिएका मनहरु, अनुपम दृष्य र दुर्लभ अनुभूति, केइ लिङहाङको बास एक र केइ लिङहाङको बास दुई गरि आठ ओटा यात्रा निबन्धहरु छन् । दोश्रो खण्ड हङकङ ट्रेलमा शुन्यताको कोलाहल, पोक फुलाम देखि एवर्डिनसम्म, एउटा पलायन यात्रा, एडर्विन कन्ट्रिपार्क भिजिटर सेन्टर, एवर्डिन माछा बजार र सि फुड रेष्टुरेन्टहरु र उकाली ओराली भन्ज्याङ देउराली गरि छ ओटा नियात्राहरु छन् । तेस्रो खण्डमा समुन्द्रका राक्षसी तरङ्गहरु, यात्रा चिम चुइको, हुस्सुले पुरिएका पहाडहरु, आमा रकको कथा, लाम्मा द्धीपमा एकदिन र पत्रकार संघ जन्मदाको सेरोफेरो गरि छ ओटा नियात्राहरु समावेश भएका छन् ।

कर्मथलोको रुपमा स्विकार गरेको भूमि हङकङमा उनी बिदाका दिनमा पनि चुपचाप लागेर बस्दैनन्, एउटा गतिलो पुस्तक लेख्ने योजनामा तल्लिन देखिन्छन् । हामीले सोचे जस्तो हङकङ यो पुस्तक पढेपछि निकै फरक लाग्छ । प्रायः उनले हङकङ ट्रेलका बारेमा लेखेका छन्, त्यहाँ पनि यस्ता ट्रेलले केही समय भए पनि मानिसहरुलाई पैदलै हिड्नको लागि प्रेरित गरिरहेको आभाष पुस्तकमा दिलाएका छन् । लेखक लेख्नकै लागि यात्रा गर्ने गर्छन र आफ्ना परिवार, साथीहरुलाई पनि घुम्न प्रेरित गर्छन । यात्रामा देखिएको दृश्यले उनी रोमान्चित पनि बनेका देखिन्छन्, कही कतै दुःखी पनि देखिन्छन्, समग्रमा दुःखका पाटाहरुबाटै सुखका असिम अनुभूतिहरु प्राप्त हुँदा रहेछन् भन्ने तत्व ज्ञान पनि पुस्तकमार्फत सम्प्रेषण गरिरहेका छन् ।

हङकङभित्रका नियात्रा पढिरहँदा विश्वको कुनै एउटा दार्शनिक पुस्तक पढिरहेको अनुभूति हुन्छ । मानिस उत्पतिदेखि जीव वनस्पतिका भित्री कुराहरु पनि उनले पुस्तकमा उल्लेख गरेर अझै बौद्धिकताको प्रर्दशन गरेका छन् । यसले के देखाउँछ भने, उनी कुशल योजनाविद् र पाठकका मर्म बुझेर सचेत बनेर लेख्न सक्ने खुबी भएका लेखक लाग्छन् । उनको यो कृति पहिलो भएता पनि कसरी पाठकलाई प्रभावित गर्न सकिन्छ र कसरी पाठकलाई नयाँ नयाँ कुराहरु दिन सकिन्छ भनेर सचेत भएर सिर्जनाहरु यहाँ भेटिन्छन् । संसार ठूलो छ, भाषा फरक छ तर, मान्छेहरुको रुने र हाँस्ने भाषा एउटै हुन्छ, तसर्थ समग्र मानवीय संवेदनाका पाटाहरुलाई ध्यानमा राखेर लेखिएको यो पुस्तक आम पाठकलाई एउटा बौद्धिक खुराकको रुपमा लिन सकिन्छ ।

हङकङभित्र पुस्तक नियात्रा विधाको हो, तर यसमा प्रस्तुत भएका सामाग्रीहरु भने दार्शनिक र बौद्धिक लाग्छन् । समग्र मानव सभ्यताको गुँढ रहस्य खोतलीरहेको पाइन्छ । एउटा लेखक बहुराष्ट्रिय, बहुसांस्कृतिक, बहुधार्मिक शहर हङकङमा बसोवास गरेर त्याहाँको बारेमा नेपाली भाषामा लेखिएको सायद यो पुस्तक पहिलो नै हुनसक्छ । हुनतः हङकङमा धेरै नेपालीहरु बसोवास गरेका छन् र तिनीहरुको नेपाली साहित्यमा पनि निकै ठूलो योगदान छ । हङकङेली क्रान्ति सुब्बाले एउटा अर्को इँटा थप्ने प्रयास गरेका हुन् र, यसमा उनी सफल पनि देखिएका छन् । उनको लेखनीमात्र उम्दा छैन, उनको अध्ययन पनि उम्दा रहेको प्रमाण पुस्तकमा भेट्न सकिन्छ । हङकङभित्र लेखि रहँदा उनी कहिले गोपाल पराजुलीको नयाँ इश्वरको घोषणाको प्रसंग ल्याउँछन्, कहिले नारायण वाग्लेको पुस्तक पल्पसा क्याफेका बारेमा लेख्छन्, कहिले जगदिश घिमिरेको पुस्तक अन्र्तमनको यात्रासंग सम्वाद गरिरहेका हुन्छन् । नेपाली साहित्यमामात्र नभइ विश्व साहित्य र धार्मिक पुस्तक अध्ययन गरेको प्रष्ट हुन्छ, दीपक चोपरा, बाइवल, श्री कृष्णका वाणीहरु, बुद्धका दर्शन, केनोपदेष, शंखराचार्य, एरिस्टोटल, विश्वात्मा लगायत थुप्रै दर्शनशास्त्रको प्रसंगले पुस्तकलाई गहकिलो बनाएको छ । यसले पनि उनी नेपाली तथा विश्व साहित्यका पुस्तकहरु अध्ययनमा अपडेट रहेछन् भन्ने बुझिन्छ । अर्को कुरा एउटा लेखक हङकङमा बसेर नेपाल पढिरहेका पाइन्छ ।

आधुनिकताको उच्चतम संगमथलो हङकङमा पद यात्राका क्रममा देखिएका दृश्यहरुले रोमान्चित बनाउँछ । लावारिस गोरुहरु, खेत रोपीरहेका किसानहरु, एउटै भैसीलाई जोतीहरेका किसानहरुको सचित्र वर्णनले नियात्रालाई सजिवता प्रदान गरेको छ । यी नियात्राहरु पढ्दा आफैले यात्रा गरिरहेको जस्तो महशुस पाठकले गर्न सक्छन् । उनी लेख्छन् अक्करे भिरको रोमान्चकारी सकस पश्चात इनाम स्वरुप हाम्रो सामु एउटा मनोहर समुन्द्र किनार देखा पर्छ । यस किनारको नाम हो हाम तीन वान याने नुनिलो भूमि युक्त किनार । चीनको प्राकृतिक सुन्दरता बखानातीत लाग्छ । विशेष गरी एकाम्मे शैलीमा लयबद्ध उठवसरत समुन्द्री हालका रजत कल्कीले जोकोहीलाई मन्त्रमुग्ध तुल्याउने क्षमता राख्दछ । समुन्द्र र आकाश ट्याप्पै जोडिएको क्षितिज देख्दा लाग्छ हामी समुन्द्र होइन पृथ्वी किनारमा छौं ।

हङकङ एउटा सिमेन्टको जंगलमात्र होइन, प्राकृतिक दृष्यले भरिभराउ भएको सुन्दर समृद्ध शहर रहेछ भन्ने तथ्य हङकङभित्र पढ्दा खुलस्त हुन्छ । बेलायती सैनिकले कब्जामा लिनु अघि यो प्रायद्धीप चीनको सान ओन काउन्टी अन्तर्गत पर्दथ्यो । त्यस अघि पनि सामुन्द्रीक डाकुहरुले कब्जा गरेका तिता इतिहासहरु हङकङभित्र पढ्न सकिन्छ । अहिले चीनको स्वसाशित राज्यको रुपमा रहे पनि अहिले शान्त छैन हङकङ । यसका बाबजूद पनि विकासको चरम बिन्दुमा रहेको पक्कै छ । ब्रिटिस गोर्खाहरुको बाक्लो उपस्थिति रहेको हङकङमा संसार कै सातौं लामो झोलुग्ङे पुल चीङमाको निमार्णमा पचहत्तर प्रतिशत नेपाली कामदारहरुको श्रम परेको कुराले नेपालीहरुले गरेको योगदानको कदर गर्न मन लाग्यो । तर, उनीहरुको श्रमको मूल्य कसरी चुकायो हङकङले यसले मन दुखाउँछ नै । अझ यस पुल निमार्णमा नेपाली महिलाहरुको योगदान र उनीहरुले गरेको श्रमका पाटाहरुले मन कटक्क हुन्छ । नेपाली पत्रकारिता र साहित्यमा त्यहाँ भए गरेका केही गतिविधिमा संलग्न नेपाली र पत्रपत्रिकाहरुको पनि उल्लेख गरेका छन् हङकङभित्रमा ।

समग्र रुपमा पढ्दा हङकङभित्र हङकङका धेरै कुराहरु थाह पाउँन सकिन्छ । हङकङभित्र पढिरहँदा धेरैलाई यी इतिहास, दर्शन र राजनीति कुराहरु नलेखेको भए हुने जस्तो लाग्छ नै । तर यी कुराहरुले कही फरक स्वाद र बौद्धिकता भने दिएका नै छन् । लेखककै भनाइ सापट लिएर भन्नु पर्दा नियात्रालाई केही फरकतासाथ पस्केर पाठकलाई नयाँ अनुभूति दिन खोजेको पक्कै छ ।

कृति : हङकङभित्र
विधा : नियात्रा
लेखक : क्रान्ति सुब्बा
प्रकाशक : रविना राई
मुल्य : रु.३५०

प्रतिक्रिया दिनुहोस्