Logo
Logo

कविता : प्रश्न


आशिष भण्डारी


ऊ आँखै अगाडि छे
र, पनि म कल्पनामै डुबिरहेछु।

ऊ भन्छे,
आकाशमा घण्टौं हेरेर कल्पिन सक्छौँ ?
प्यासी नयनसँग बात मार्न सक्छौँ ?
यी भोका आँतहरूलाई भिजाउन सक्छौँ ?
अनि,
परिबन्धको चपेटामा चेपिएर मलाई अगाल्न सक्छौँ ?

यदि, म ऊ जस्तै बेमतलबी भैदिए,
मनहरूसँग उसले जस्तै खेल्न जानेको भए,
अनि भोक र प्यासलाई छिनभरमै गायब गर्न सक्ने भए,
बेहिसाब भनिदिन्थेँ ।

रात निदाइरहेको बेला,
कसरी जागै बस्थेँ ?
मात्तिएका रक्सिहरूसँग,
किन दुस्मनी मोल्थेँ ?
अघाएका खानाहरूलाई,
किन परैबाट नियाल्नुपर्थ्यो ?
अनि,
फोक्सो जलाउने चुरोटले,
किन मेरो मात्रै मुटु जलाउन खोज्थ्यो ?

सायद,
ऊ सँगैको नशा
सब भन्दा गाढा बनेर आइदियो।
मुटुमै छाइदियो।
र, त अँध्यारो दिन र मधुरो रातमा
सँधैसँधै जागै बस्ने गरेको छु।

यी सब प्रश्नहरूका उत्तर तिमीसँगै छन्
र त,
उज्यालो र निद केवल आफ्नै जिन्दगीसँग मात्र राखेछौँ।

प्रतिक्रिया दिनुहोस्