Logo
Logo

बगरमा डोजर चलाएपछि माझी समुदायको बिचल्ली


पेमा लामा

441
Shares

काभ्रेपलाञ्चोक, २५ माघ । जिल्लाको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उनको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।
कमाई खाने खेतबारी नै नभएको उनको परिवारको दैनिकी नै बिहानदेखि बेलुकासम्म घरतलको डुम्रेबगरमा बालुवा चालेर बित्ने गर्दछ । चालेको बालुवा बिक्री गरेर आएको पैसाले नै पुर्खौंदेखि परिवार चल्दै आएको मिश्राले बताए । ‘हाम्रो जगरबगर पुर्खौंदेखि मर्दादेखि जीवन गुजारा गर्नेसम्मको यही ठाउँ भएकाले यसमा कसैले पनि कब्जा जमाउन पाउँदैन’, उनले बिलौना गर्दै भने, ‘हामी गरीबको हातमुख जोड्न आम्दानीको एक मात्र विकल्प रहेको बगर नै डोजरले जोतेर ध्वस्त बनाउँदै हामीलाई खुट्टासमेत टेक्न नदिने भएपछि कसरी परिवार पाल्ने ?’ अरु आम्दानीको कुनै स्रोत नभएको र खानासमेत धौधौ भइरहेको परिवारलाई गरिखाने ठाउँमा नै खुट्टा टेक्न नदिने भएपछि कहाँ गएर कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ ।
न त कुनै व्यवसाय नै छ, न त पेट पाल्नलाई अरु विकल्प नै । त्यही सावेल चलाएर पसिना बगाएर खाना पाउनुपर्छ भन्दा कसैले पनि आफूहरुको कुरा नै नसुनेको दुखेसो उनी गर्छन् । ‘धेरै पैसा र पहुँच भएकाले विभिन्न खोलाका बगरमा ठूलाठूला मेशिन चलाएर ठूलो आम्दानी गर्छन् भने हामीले पसिना बगाएर खानसमेत नपाउने अवस्था आयो’, गहभरी आँसु पार्दै उनले भने, ‘ढुंगाको सिरानी, बालुवाको ओछ्यान गरेर रातदिन यही बगरमा दुःख गरेर खाँदै आएको ठाउँसमेत खोस्ने काम भएको छ ।’
सोही गाउँका अर्का ६१ वर्षीया आहुती माझीले गाउँभरीकै माझी परिवारको कमाई खाने एकसुर्को मात्रै बारी भएको र त्यसले दुई महिना पनि खाना नपुग्ने भएकाले पुर्खौंदेखि त्यही बगरमा पसिना बगाएर परिवार पाल्दै आएको बताए । उनले भने, ‘यही बगरमा पसिना बगाएर नून, तेल ल्याइदिने कर्मथलोमाथि अर्कैले आएर हडपेपछि अब हामी कसरी बाँच्ने । पहिला पहिला त यही बगरमा कमाएर खान्थ्यौँ, दुई वर्ष भयो खाने थलो नै अरुले आएर रजाइ गरेको, अब हामीले कसरी जीवन धान्ने ?’
सो ठाउँमा काम गरी दिनको रु ५०० देखि एक हजारसम्म कमाई हुने गरेको कर्मथलोमा बाहिरबाट मेशिन ल्याएर जोत्न थालेपछि आफूहरुको दैनिकी गुजारा गर्न ठूलो समस्या भएको अर्का स्थानीय बासिन्दा कान्छा माझीको भनाइ छ । सोही गाउँका युवा राजन माझीले आर्थिक अभावकै कारण दोलालघाटस्थित दुलालेश्वर माविमा कक्षा १० पढ्दापढ्दै विद्यालय छोडेर त्यही बगरमा बालुवा चाल्ने काममा घरपरिवारलाई सघाउन थालेको काम पनि अब खोस्ने यो भन्दै दुखेसो पोखे ।
स्थानीय प्रदीप माझीले आफूहरुको पेशा खोसेको भन्दै वडा कार्यालयदेखि गाउँपालिकासम्म पुगेर समस्या राख्दा पनि आफूहरुको कुरा नै सुनुवाइ नभएको गुनासो गरे । ‘एकातिर पढ्ने मान्छे हाम्रो समुदायमा नहुनु, अर्कोतिर अािर्थक अभावमा पिल्सिएर रहेका समुदायको समस्या सरकारले पनि नदेखेको जस्तो गर्नु’, उनले भने, ‘जसरी भए पनि हामी हाम्रो पेशा गरेर खाने ठाउँलाई अरुलाई आएर बिथोल्न दिदैनौँ ।’
हिजोदेखि जसरी काम गरेर खान पाएको अवस्था थियो, त्यसरी नै काम गरेर खाना पाउनुपर्ने उनहरुको भनाइ छ । दुई वर्ष अगाडि पनि त्यही ठाउँमा अहिलेकै जस्तो गरेर काम गर्ने थलो खोस्न थालेपछि आफूहरुले गाउँपालिकामा गएर ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको उनीहरुको भनाइ छ ।
स्थानीय अर्का युवा कुमार माझीले गाउँमा एसइई पास गर्ने दुई/तीन जना मात्रै भएको सो गाउँका सबै परिवार नै नदी बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने पेशा नै खोसिएको भन्दै चिन्ता व्यक्त गरे । ‘लुगा किनिदियो खाना छैन, खाना जोहो ग¥यो लुगा हुँदैन’, उनले भने, ‘यसरी जीवन गुजारा गर्दै आएका हाम्रो समुदायको पेशा नै स्थानीय सरकारले खोसिदिने काम गरेको छ ।’
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सिमानामा बस्दै अति सिमान्तकृत समूहका आदिवासी जनजाति माझी समुदायका करीब ६० घरधुरीको बसोबास रहेको छ । अहिले माझी समुदायका सबै जना आफूहरुको पेशा खोस्न नपाइने माग गर्दै ठेकेदारले काम गरेमा अवरोध गर्न भन्दै बगरमा जम्मा हुने गरेका छन् ।
विसं २०६८ मा अरनिको राजमार्गको बन्देउदेखि तल नदीसम्म उनीहरुले निकालेको बालुवा बेच्नका लागि सबै घरधुरीले पैसा उठाएर झण्डै पाँच लाख रुपैयाँँको खर्चमा मोटरबाटोसमेत खनेका थिए । ठेक्का आह्वान गरेपछि काम गर्न आएको ठेकेदारले एक मुठी बालुवा र एउटा ढुङ्गाको टुक्रासमेत विनापैसा लान पाउँदैन भन्दै धम्क्याएको गुनासोसमेत उनीहरुको छ । निकालेर थुप्राएको बालुुवा बाहिरबाट गाडी ल्याएर लिन आउने गरेकामा अब त्यसलाई गाउँपालिकाले बेचेपछि डोजर लगाएर आफूहरुको पेशा नै खोसिएपछि उनीहरु आक्रोसित बनेका छन् ।
सो ठाउँमा ठेक्का पाएको जिम्बा कन्स्ट्रक्सन प्रालिले यही माघ १५ गतेदेखि आगामी जेठ मसान्तसम्मका लागि उत्खनन् र सङ्कलन गर्न पाउने जिम्मा पाएपछि सो फर्मले कामदार खटाएर दुई वटा एक्साभेटर हालेर काम गर्न थालिसकेको थियो तर पछिल्लो समय स्थानीयवासीको विरोधपछि काम रोकेको छ ।
ठेक्का पाएको जिम्बा कन्स्ट्रक्सनका राजेश लामाले स्थानीय माझी समुदायको जायज मागलाई पूरा गर्ने विषयमा कुरा भए पनि त्यो ठाउँमा नै काम गर्न नपाउने खालको कुरा गरेपछि विवाद बढेको बताए । ‘त्यसका लागि हामीले गाउँपालिकालाई काम गर्ने बातावरण बनाउन समन्वयका लागि आग्रह गरेका छौँ’, उनले भने, ‘पहल भए पनि अझै कुरा मिल्न सकिरहेको छैन ।’
सो वडाका वडाध्यक्ष मोतिलाल तामाङले गाउँपालिकाले ठेक्का आह्वान गरेसँगै प्रक्रियामा आएर सम्झौता गरेको कम्पनीले काम शुरु गर्न थालेपछि स्थानीय माझी समुदायले अवरोध गर्न थालेका कारण काम रोकिराखेको बताए । काममा अवरोध आएपछि शुक्रबार दुवै पक्षबीच गरेको छलफलमा निष्कर्ष निकाल्न नसकेपछि पुनः आइतबार सबैपक्ष बसेर छलफल गरी निकास खोज्ने कामका लागि छलफल भइरहेको उनले बताए ।  (रासस)

प्रतिक्रिया दिनुहोस्