काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर रहेको स्मरण गराएका छन् । सोमवार सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक कार्यक्रममा बोल्दै नेता रिजालले साे कुरा स्मरण गराएका हुन् ।

‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफ्नै गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ,’ उनले भने, ‘गृहमन्त्रीजी तपाईं आफैं चिडियाखानामा जानुस् या मन्त्रिपरिषद्लाई नै चिडियाखाना घोषणा गर्नुस् ।’
माघ २३ गते काठमाडौंको नारायणहिटी अगाडि नेकपा ओली समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्ने अपराधीलाई जावलाखेलको जूमा लगेर थुन्ने चेतावनी दिएका थिए ।











