Logo
Logo

कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के, बजार व्यवस्थित गर्न निर्देशन


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २७ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै उनले त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिइन् ।

अनौपचारिक पोशाकमा तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिइन् ।

केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिइन् ।

फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्शमा जाने बताइन् ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन् । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताइन् ।

उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाई थियो । भोलीका दिनमा जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उनले किसानलाई मलको अभाव हुन नदिने बताइन् । उनले भनिन्, ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ । हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौ । किसानहरुले सहज ढंगले मल प्राप्त गर्नुभएको छ ।’

बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उनले छिट्टै परिक्षण गरी खराब चिजहरूलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्