Logo
Logo

मन्त्रीद्वय पौडेल र त्रिपाठीले गरे वीर अस्पताल बनाउने स्थानको अवलोकन


- दृष्टि संवाददाता


भक्तपुर, २७ माघ । भक्तपुरको दुवाकोटस्थित विस्तारित वीर अस्पतालका लागि छुट्याइएको जग्गाको अर्थमन्त्री बिष्णु पौडेल र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अवलोकन गरेका छन् ।

मंगलबार चाँगुनारायण नगरपालिका–१, २ र ४ मा अवस्थित वीर अस्पताल विस्तारका लागि छुट्याइएको जग्गा अवलोकनका क्रममा अर्थमन्त्री पौडेलले अस्पताल बनाउन स्रोतको सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अस्पतालको संरचना निर्माण एवम् विस्तारका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दातृ संस्था वा अन्य निकाय जहाँबाट जसरी भए पनि बजेट जुटाउने उल्लेख गरे ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले विद्युत् प्राधिकरण र सडक विभागका प्रमुखहरुलाई आ–आफ्नो जिम्मेवारीमा परेको कार्यको लागत इस्टमेट तयार गरेर काम सुरू गर्न निर्देशन दिएो ।

उनले देखिएका समस्या समाधान गर्दै आयोजनालाई छिटो अघि बढाउन आफूहरू अवलोकनमा आएको बताए ।

त्यस्तै स्वास्थ्य मन्त्री त्रिपाठीले वीर अस्पताल विस्तारको पहिलो चरणमा फराकिलो सडक, विद्युत्, पानी र ढल व्यवस्थापनको प्रबन्ध हुनुपर्ने बताए । उनले वीर अस्पताल निर्माण कार्य छिटो गर्न कुनै समस्या नहुने प्रतिवद्धता जनाए ।

वीर अस्पताल सञ्चालन भएको हालको स्थान साँघुरो र नयाँ सरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका १, २ र ४ मा पर्ने दुवाकोटस्थित जग्गाको छनोट गरी गरेर विस्तारको प्रक्रिया थालेको हो ।

उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेललगायत संरचना निर्माण गर्ने सरकारको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्