काठमाडौं, २८ माघ । अनसनमा रहेकी गंगामाया अधिकारीको जीवन रक्षा र बैतडीकी भागरथी हत्याबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेकी छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त पदाधिकारीहरुसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरिन ।

गत पुस ६ गतेदेखि गङ्गामाया अनसनमा छन् । उनको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी उनको जीवन बचाउन पहल गर्न राष्ट्रपतिले आयोगका पदाधिकारीलाई आग्रह गरिन।
राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको स्मरण पनि गरिन । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै गोर्खा फुजेलकी गङ्गामाया अनशनमा छिन।
राष्ट्रपतिले नेपाल सरकारले पाटन उच्च अदालतमा पुनरावेदन गरेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दालाई अघि बढाउनुपर्ने र मुद्दाको पेशी स्थगन हुन नहुने तथा हत्याका मुख्य आरोपी हाल आयरल्यान्डमा रहेका रुद्र आचार्यलाई नेपाल झिकाई कारवाही अगाडि बढाउनुपर्ने सुझाव दिइन ।
कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।
सरकारले सो मुद्दा पुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ । रुद्र आचार्य हाल आयरल्याण्डमा छन् । नेपाल सरकारले आचार्यलाई यातना नदिने आशयसहितको पत्र बेलायत सरकारलाई लेखी नेपाल झिकाउन सक्छ, यस मामिलामा परराष्ट्र मन्त्रालय तयार रहेको देखिन्छ ।
नेपाल सरकारका तर्फबाट तत्कालीन शान्ति तथा पुनः निर्माणमन्त्री नरहरि आचार्यले गङ्गामायासँग गरेको तीन बुँदे सम्झौतामा मुद्दा चलाउने, रुद्र आचार्यलाई नेपाल झिकाउने र गङ्गामायाको जीवन निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख थियो ।
यसैअनुसार वर्तमान सरकार गठनपछि गङ्गामायाको नाममा खाता खोली रकम जम्मा गरिएकामा उक्त रकम ब्याजसहित हाल उनकै खातामा रु एक करोड १७ लाख रहेको छ ।
यस्तै, राष्ट्रपतिले आयोगका पदाधिकारीहरुसँगको छलफलमा बैतडीमा हालै बलात्कारपछि हिंसाको शिकार बनेकी किशोरी भट्टको मुद्दामा भइरहेको अनुसन्धानलाई तीव्र बनाउन आवश्यक सहयोग गर्न पनि आग्रह गरिन । आयोगका पदाधिकारीले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट आयोगको टोली खटाइएको र घटनास्थलमा पुगिसकेको जानकारी गराएका थिए ।











