काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आजबाट पुनः बहस भएको छ । हाल प्रधानमन्त्रीका निजि अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरिरहेका छन् ।
माघ २ गतेदेखि लगातार सुरु भएको बहस न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार स्थगित गरिएको थियो । आजबाट पुनः निरन्तर बहस हुने भएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध १३ वटा रिट परेको छ ।

यसलाई छिटो टुंगो लगाउनुपर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अधिवक्ताहरुलाई ताकेता गर्दै आएका छन् । हालसम्म रिट निवेदकका तर्फबाट ७० भन्दाबढी अधिवक्ताहरुले बहस गरिसकेका छन् ।
अहिले रिट निवेदनको विपक्ष अर्थात प्रतिनिधिसभा विघटन ठिक हो भन्ने पक्षका अधिवक्ताहरुले प्रधानमन्त्रीका तर्फबाट बहस जारी राखेका छन् । यो बहस सकिएपछि सभामुखका तर्फबाट अधिवक्ताहरुले बहस गर्ने छन् ।
त्यसपछि एमीकस क्यूरीले आफ्नो राय दिनेछ भने संवैधानिक इजलासले अन्तिम निक्र्यौल निकालेपछि मात्र फैसला हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
त्यसविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाइ गर्दै आएको छ ।











