काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन् ।
अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनले बताए । ‘कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन’, प्रधानमन्त्री ओलीले भने ।
संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्न सुझाव दिँदै उनेले भ्रष्टाचारी जोसुकै भए पनि दण्डित गर्न आग्रह गरे । सरकारले अख्तियारको कामका कुनै अवरोध नगर्ने उनले प्रष्ट पारे । अख्तियार स्वतन्त्र रहेको र उसको काममा सरकारले हस्तक्षेप नगर्ने उनले उल्लेख गरे । भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

अख्तियारको काम सन्तोषजनक रहेको भन्दै उनले सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ भन्ने कुराको पुष्टि व्यवहारबाटै प्रष्ट हुने बताए ।
भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । ‘सञ्चारमाध्यम यथार्थ कुरा सूचित गर्न सक्रिय रहनुपर्छ’, प्रधानमन्त्री ओलीले सुझाव दिए, ‘भ्रष्टबाहेक यो देशमा जन्मिदैनन् भन्ने पार्न खोजिँदै छ, यो ठीक होइन ।’
भ्रष्टाचार निवारणका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको उनको भनाइ थियो । ‘संवैधानिक निकाय उत्तरदायित्व बोकेको गम्भीर संस्था हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भए, ‘कानूनको नजरमा सबै बराबर हुन् भन्ने ढङ्गले काम गर्नुपर्छ ।’
निर्दोषलाई कुनै पनि हालतमा दोषी बनाउन नहुने भन्दै उनले हचुवा तालले मुद्दा दायर नगर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले आयोगको कामप्रति आफू सन्तुष्ट रहेको उल्लेख गरे । ‘भ्रष्टाचार सबैको साझा शत्रु हो भन्ने कुरा व्यवहारमा उतार्नु जरुरी छ’, प्रधानमन्त्री ओलीले भने।
हरेक व्यक्तिले आफूलाई भ्रष्टाचारबाट मुक्त पार्न जरुरी रहेको भन्दै उनले भ्रष्टाचार गर्ने अवसर कसैले पनि पाउन नहुने बताए । ‘भ्रष्टलाई सजाय दिनैपर्छ । यसमा सबैले सहयोग गरौँ’, उनले भने । सरकारले पछिल्लो समय भ्रष्टाचार निवारणका लागि नागरिक एप्स ल्याएको उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा मुद्दा भएकाले धाक लगाउने र तर्साउनेदेखि नडराउन आयोगलाई सुझाव दिए । उनले आयोगका पदाधिकारीलाई निडर भएर काम गर्न आग्रह गरे।











