Logo
Logo
दृष्टिकोण

नेपालमा जर्दानो ब्रुनोको नियति नदोहोरियोस्


लक्ष्मण देवकोटा


सोह्रौं शताब्दीका क्रान्तिकारी दार्शनिक, गणितज्ञ, कवि, खगोलविद् जर्दानो ब्रुनोको नियति भोगिरहेको छ हाम्रो मुलुकको संविधानले । सबै पक्षको समझदारी भए पनि अग्रगमनको ज्वारभाटाको परिणति थियो यो संविधान । अहिले ब्रुनोेझैं चौबाटोमा बाँधेर राखेका छन्– खड्गप्रसाद ओलीले हाम्रो संविधानलाई ।

अब त्यसमा अगुल्टो झोस्ने कि ब्रुनोको हरेक ब्रम्हाण्डको आफ्नै ब्रम्हाण्ड हुन्छ भन्ने सिद्धान्त अस्वीकार गर्ने भ्याटिकन सिटीका पोपहरुको लयमा लय नमिलाएर पृथ्वीले सौर्यमण्डल परिक्रमा गर्छ भन्ने नूतन विज्ञानलाई स्वीकार गरिदिने ? समयले हाम्रा न्यायमूर्तिहरुलाई सिंगो मुलुकलाई कता लैजाने भन्ने ठूलो जिम्मेवारी सुम्पिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको अग्निपरीक्षा सिंगो समयले हेरिरहेकोछ ।

जर्दानो ब्रुनो कोपर्निकसको खगोल विज्ञानबाट निकै प्रभावित थिए । पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने कुरालाई धर्मभीरुहरुले मान्दैनथे । क्याथोलिक धर्मगुरु भ्याटिकनका पोपले सिंगो समाजका सत्यहरु निर्धारण गर्थे । भ्याटिकनको विरोधमा बोल्नेहरुलाई मृत्युदण्ड दिने कठोर समय थियो त्यो ।

इटालीमा जन्मेका ब्रुनोले भने भ्याटिकनलाई चुनौति दिए । कहिले स्विजरल्याण्ड, फ्रान्स, वेलायत, जर्मनीमा निर्वासित जीवन बिताएर सत्यको प्रचार गर्दै हिंडे । उनले क्याथोलिक धर्मभीरुहरुको धर्मकै विरुद्धमा खुला विचारधारा राख्ने आधुनिक क्रिश्चियन पद्धतिको पनि विकास गरेका थिए । उनी स्वयम् धर्मका बारेमा घण्टौं बहस गर्दथे । युरोपका विभिन्न दरबारहरुमा शास्त्रार्थको निम्ति उनलाई आमन्त्रण गरिन्थ्यो ।

खगोल विज्ञानमा उत्तिकै दक्ष यी विद्वानलाई भ्याटिकनका धर्म भिरुहरुले सन् सोह्रसयको फेब्रुअरी १७ को दिन सयौं मानिसको अगाडि खम्बामा बाँधेर मटितेल खन्याएर ज्यूँदै जलाएर हत्या गरिदिए ।

जप्नलाई मदन भण्डारीको जनताको बहुदलीय जनवाद छ तर, व्यवहारमा अल्पमतको शासन चलाउनुछ । भोलि उनकै नाकमुनि अर्कोले बहुमतको निर्णय मान्दिन भन्यो भने त त्यसलाई पनि स्वीकार्नुपर्ने नीति बनाउन गइरहेका छन् उनी । सकेसम्म संसद् छलेर अध्यादेशमार्फत देश चलाउन खोज्ने, संघीय गणतन्त्रको विकेन्द्रकरणको भाष्यलाई खिल्ली उडाउँदै केन्द्रबाटै सबै परिपंच गर्न खोज्ने, उनले आफू संघीय गणतन्त्रप्रति प्रतिबद्ध भएको दाबी गर्नु स्वयम्मा हाँस्यास्पद कुरा हो ।

कालान्तरमा उनी असाध्यै चचिर्त भए । उनले गरेका खोजहरुको प्रकाशन भयो । भ्याटिकनले पनि पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने सत्यलाई स्विकार्न कर लाग्यो । तत्कालीन अदालतबाट फाँसीको सजाय सुनाइँदा पनि उनी कत्ति पनि विचलित थिएनन् । आगो लगाइनु अघि ब्रुनोले भनेका थिए– ‘समय सत्यको पिता हो, हाम्रो मस्तिष्क जननी । तिमीहरुलाई तिमीहरुको न्याय सुनाउन शायद डर लागिरहेको होला तर, म तिम्रो फैसलासँग एकरत्ति पनि डराएको छैन ।

समयले सबै चिज दिन्छ र लिन्छ पनि । सत्यको जित हुन्छ, समयले यो सबै कुरा निर्धारण गर्दछ । इतिहासले तिमीहरुलाई धिक्कार्नेछ । किनभने, शक्तिको मादकतामा तिमीहरुको विवेक शून्य भएकोछ ।’

खड्गप्रसादको प्रतिनिधिसभा विघटन कुनै पनि मूल्यमा जायज थिएन भन्ने कुरा उनका वकिलहरुको कमजोर तर्कहरुले प्रमाणित गरिसकेका छन् । सरकारी मोर्चाका तर्कहरु जनताले सुनेर सबैले महसुस गरेको सत्य के हो भने– ‘कसैको अहम्का निम्ति जनताको सार्वभौमसत्ताको बलात्कार हुनु कुनै पनि हालतमा सही काम हुँदै होइन ।’

प्रचण्ड र माधव नेपालले काम गर्न दिएनन् भनेर संसदनै प्रवेश नगरिकन संविधानले दिंदै नदिएको अधिकार प्रयोग भन्दै जनताको मतको अपमान गर्ने खड्गप्रसादको कदम दण्डनीय छ । त्यसमा आँखा चिम्लेर, कहीं कतै विमर्श नै नगरी सही धस्काउने राष्ट्रपतिको काम पनि दण्डनीय नै छ ।

आफूसँग बहुमत संसद सदस्य भएको हुनाले आफूले विघटन गर्न पाउने भन्ने उनको दलिल जताबाट जसरी व्याख्या गरे पनि मिल्दैन । नेकपा संसदीय दलमा अल्पमतमा परेकै कारण उनले संसद सामना गर्न डराएको कुरा त घाम झैं छर्लंग छ । बरु संसदीय दलमा प्रवेश गरेको भए उनको शाख बढ्ने थियो ।

संविधानको अपव्याख्या गर्दै संसदको हत्या गरिसकेपछि अध्यादेश मार्फत् आफ्नो स्वार्थपूर्तिका निम्ति संवैधानिक परिषदको नियुक्तिले त उनको नियत छर्लङ्ग बनाइदियो । अदालतमा विचाराधीन विषयमा प्रधानन्यायाधीश राणाको नियुक्ति प्रकृया र शपथ कार्यक्रममा देखिएको भूमिकाले धेरै प्रश्न जन्माएको छ ।

आशा गरौं, राणाले मृत्युदण्डको निम्ति ठिक्क पारेको ब्रुनोलाई आगो लगाइदिने होइन, उनलाई ससम्मान रिहा गर्नेछन् । अर्थात् संविधानलाई पुनः जीवन दिनेछन् । यसो भयो भने धेरै हिसाबले भद्रगोल भइसकेको राजनीति सम्हालिनेछ । संविधानको प्राण रहने आशा गर्न सकिन्छ ।

जनता संसद् पुनःस्थापनाको दिनको प्रतिक्षा गरिरहेका छन् । उनै ब्रुनोले भनेझैं, सजाय पाउनेभन्दा निर्णय दिनेहरु नै बढी डराउनु पर्ने अवस्था भयो भने न्याय मर्छ । यसरी न्यायको हत्या गर्दैमा फेरि सत्य त मर्दैन । सत्य यही हो, खड्गप्रसादले गरेको प्रतिनिधिसभा विघटन संविधानको मर्म र धर्मसम्मत छैन । यो घटनालाई इतिहासमा त्यही भनेर पढिनेछ ।

एक्काइसौं शताब्दीको यो विकास र विज्ञानको चरम प्रगति एकाएक भएको होइन । जर्दानो ब्रुनोजस्ता माथि उल्लेखित विम्बात्मक क्रान्तिकारी शहीदको रगतको एक–एक बूँदको योगदान छ, विज्ञानको यो विकासमा । खड्गप्रसादहरु भन्न त आफूलाई वैज्ञानिक समाजवादी कम्युनिष्ट दाबी गर्छन् । तर, व्यवहारमा भ्याटिकन पथ पछ्याउँछन् । वैज्ञानिक चरित्र, चिन्तन र सिद्धान्तबाट च्यूत भएपछि पशुपतिनाथको शरण पनि आवश्यक हुन्छ भन्ने दरिद्र मानसिकताबाट उनको चरित्र उदांगो हुन्छ ।

नारायणहिटी अगाडि माघ २३ गते सिंगो राज्यसत्ताको चरम दुरुपयोग गरेर तयार गरिएको पञ्चभेलामा खड्गप्रसादको ओंठमुख सुक्यो । उनको अन्तरहृदयलाई थाहा छ, अहंकारले उनी पतनको रसातलमा पुगिसकेका छन् । जप्नलाई मदन भण्डारीको जनताको बहुदलीय जनवाद छ तर, व्यवहारमा अल्पमतको शासन चलाउनुछ । भोलि उनकै नाकमुनि अर्कोले बहुमतको निर्णय मान्दिन भन्यो भने त त्यसलाई पनि स्वीकार्नुपर्ने नीति बनाउन गइरहेका छन् उनी ।

सकेसम्म संसद् छलेर अध्यादेशमार्फत देश चलाउन खोज्ने, संघीय गणतन्त्रको विकेन्द्रीकरण भाष्यलाई खिल्ली उडाउँदै केन्द्रबाटै सबै परिपंच गर्न खोज्ने, उनले आफू संघीय गणतन्त्रप्रति प्रतिबद्ध भएको दाबी स्वयम्मा हाँस्यास्पद हो । संघीय गणतन्त्रमा विश्वास गर्ने मानिसले रेल र पानीजहाजका उडन्ते गफ गरेर मानिसलाई मुर्ख बनाउँदैन, उसले त भाषाभाषिका, विकेन्द्रित शक्ति पृथकीकरण र सबैलाई समन्वय गरेर असल नेतृत्वदायी भूमिका खेल्ने प्रयत्न गर्छ ।

आफ्नै दललाई एक बनाएर लैजान नसक्ने मानिसले कसरी देशलाई एक बनाएर लैजान्छ ? साधारण मानिसले पनि अहिले यही प्रश्न गरिरहेकाछन् । शक्ति फूटमा हुन्छ कि जुटमा ? यदि फूटमै शक्ति हुन्थ्यो भने वामदेव गौतमलाई मालेबाट किन फिर्ता गरेर ल्याएको त एमालेमा ? हरेक आमसभामा आफूले गरेका विकासे कामहरुको लामो फेहरिस्त पनि सुनाउने अनि कामै गर्न पनि दिएनन् भन्नु त दिउँसै मानिसलाई भ्रममा पार्नु हो ।

कुरो सपाट र स्पष्ट छ । मानिसहरु ज्यूदै छन् । सबै मानिस नेम्वाङ भइसकेका छैनन् । अदालतले चाह्यो भने संविधान निर्माणको क्रममा सहभागी विज्ञ र सभासदलाई बोलाएरै सोध्न सक्दछ । पटक पटकको अस्थिरताको कारण जुन मर्मका साथ नेपालको संविधान बनाइयो, यो संविधानको कुनै पनि छिद्रमा पसेर एकै प्रहारले संसद्को विघटन गर्न मिल्दैन । खड्गप्रसादको यो कदमलाई लगाम लगाउन सकिएन भने मुलुकमा कहिल्यै विराम नलाग्ने अस्थिरताको थालनी हुनेछ ।

पटक पटकका क्रान्तिले पनि वास्तविक नेपाली गरिब जनताको जीवन किन सप्रिएन ? भन्ने कुराको जवाफ खोज्दै जाँदा धेरै कुराको जवाफ पाइनेछ । सत्ताको रापतापले सत्य जब धरापमा पर्छ, त्यो समाजमा स्थिरता आउँदैन । जनतालाई साँच्चिकै सशक्त बनाएर आवाजसहितको नागरिक सम्पन्न देश बनाउने दूरगामी सुन्दर नेपाल सोंच्ने हो भने खड्गप्रसादले वध गर्न ठिक्क पारेको संविधानलाई जीवित तुल्याउनै पर्छ ।

खड्गप्रसाद प्रवृत्ति जो विभाजनमा देश बलियो देख्छ, जसले छिमेकी गुप्तचरहरुलाई गुपचुप विस्तारामा बोलाएर साउती मार्छ, जसले हाकाहाकी झूट बोलेर मानिसलाई भ्रममा पार्छ, त्यस्तो प्रवृत्तिको पराजय हुनैपर्छ । जर्दानो ब्रुनोको नियति हाम्रो संविधानले भोग्नेछैन श्रीमान् । पञ्चायतको तीस वर्षे कालखण्डमा त सत्ताको छायाँ हुनबाट स्वाभिमानीपूर्वक जोगिएको सम्मानित अदालतले खड्गप्रसाद प्रवृत्तिसंग किन घुँडा टेक्छ र ? जनता संसद् पुनःस्थापनाको दिनको प्रतिक्षा गरिरहेका छन् ।

उनै ब्रुनोले भनेझैं, सजाय पाउनेभन्दा निर्णय दिनेहरु नै बढी डराउनु पर्ने अवस्था भयो भने न्याय मर्छ । यसरी न्यायको हत्या गर्दैमा फेरि सत्य त मर्दैन । सत्य यही हो, खड्गप्रसादले गरेको प्रतिनिधिसभा विघटन संविधानको मर्म र धर्मसम्मत छैन । इतिहासमा त्यही भनेर पढिनेछ ।

मदनपोखरा, पाल्पा
[email protected]

प्रतिक्रिया दिनुहोस्