Logo
Logo
कविता

प्रतिगमन


युवराज चौंलागाईं


  • युवराज चौंलागाई

त्यहीँ बेला भएको थियो
नयाँ व्यवस्थाभित्र एक चिम्टी प्रतिगमन
जतिबेला
सँगैै इँटा बोक्ने मन्तीदेवीले थाप्नु परेको थियो
भाइ सुखीलालले भन्दा पनि कम ज्याला ।

नयाँ व्यवस्था बनेपछि पनि
जब रोकिएनन् विदेशिने अदक्ष युवा भीडहरू
जोतिएनन् बाँझा जमिन
र, उखेलिएनन् गाडखेतका बन्सोहरू
प्रतिगमन त्यतिबेलै भएको थियो ।

प्रतिगमन त्यतिबेलै भएको थियो
जब आलो दुध नालीमा फ्याँकेर
बालक बोकेको किसान टोलाइरहेथ्यो क्षितिजमा

प्रतिगमन ठीक त्यहीँ भएको थियो
नयाँ सरकार बनेको साँझ
जब घुस भाग लगाएर टेबलमाथि
माथि–माथि दौडिरहेथ्यो रातो गाडी
र, रोकिएथ्यो बालुवाटारको रातो घर
अर्थात् प्रधानमन्त्रीको सयनकक्ष अगाडि पुगेर ।

धेरैपछि,
एक्कासी जब बन्द भयो वानेश्वरको सम्मेलन केन्द्र
प्रतिगमनको घनघोर हल्ला चल्यो
हिउँको हुरीसरी त्यो पस्यो दलहरुभित्र
र, निस्कियो सडकमा
त्यसरी
जसरी बतासिन्छ घाइते बाघ तीखा काँडाहरुको जंगलमा ।

प्रतिगमन
मन्तीदेवीविरुद्ध होस्
कि अरब भासिएको प्रेमीविरुद्ध
प्रतिगमन
किसान वा सेवाग्राहीमाथि होस्
कि नाबालक व्यवस्था माथि
प्रतिगमन उल्टो गति र उल्टो मतिको यात्रा हो
जिउँदा मानिसहरुको वस्तीमा
स्वीकार्य छैन कुनै प्रतिगमन ।

कुरा यत्ति हो
त्यहीँबाट सच्चिनुपर्छ त्यो प्रतिगमन
जहाँबाट जुन सुरु भएको होस !
०००

प्रतिक्रिया दिनुहोस्