Logo
Logo
कविता

भेडो


सुनिता बराल


  • सुनिता बराल

म आज भोलि सपनामा
पनि भेडो नै देख्छु
सायद दिन रात
भेडाहरूकै सामिप्यमा भएर होला
जता हेर्छु त्यतै भेडा नै पाउँछु

कसैको पर्वाह नगर्ने
आफ्नो जिद्दि पना पनि छोड्दै नछोड्ने
अरूले जे ग¥यो त्यही गर्ने
जता भीड छ उतै लाग्ने
हिजो आज म देख्दै छु
सडकदेखि सरकारसम्म छन्
भेडा नै भेडाका हुलहरू

अनेक जात्रा
रथ यात्रा, शव यात्रा
गाइजात्रा ,इन्द्र जात्रा
सबैतिर यिनीहरूकै रजाइँ छ
जता गयो उतै
यिनकै लावालस्कर छ

रुप सफेद भएर के गर्नु ?
व्यवहार अपवित्र छ
भुत्ला मुलायम छ भनेर
के आत्मीयता दर्शाउनु ?
कामुक चरित्र छ
खान पाए जे पनि खाइ दिने
कराउन पाए मौसम बेमौसम कराउने
यिनीहरूकै भ्या भ्याको
एकहोरो आवाजले
ओझेल परेका छन्
समयका अग्रगामी स्वरहरू

सभामा सम्मेलनमा
गोष्ठी सङ्गोष्ठीमा
विरोधमा समर्थनमा
साहित्यमा नक्कली रङ भर्ने
राजनीतिमा पटकपटक जनतालाई छल गर्ने
करमा बजेटमा निर्धक्क उग्राइउग्राई चर्ने
भ्या भ्या गर्दै समय कु समयमा कराउन
अवसरवादी व्यवहार प्रदर्शन गर्न
यिनीहरूलाई पूर्णतः छुट छ
लाखौँ लाख करोडौँको ब्रह्मलुट छ

सधैँ आस्वासन बाँडिरहने
एकहोरो गन्ध छाडिरहने
घाँसको आसले ढुकी बस्ने
भ्याभ्याको एकनास शङ्ख फुकिरहने
न यिनीहरूसँग कुनै धर्म छ
न लाज न शर्म छ
व्यवहार सधैँ सधैँ कुकर्म छ

हाम्रो विपना ,सपनाप्रति खेलवाड गर्ने
हाम्रो भविष्यलाई कुल्चिने
साह्रै मात्तेका छन यी भेडाका थुँवाहरू
कसैको दानापानी मच्चीमच्ची उफ्रिने
भ्याभ्या गर्दै स्वार्थी स्वर उराल्ने
कुन सक्कली ? कुन नक्कली ? चिन्न गाह्रो छ
साँच्चै भेडाको समीपमा बसेर
भेडै बनेर हिँड्न झन साह्रो छ

हुनाज भवन र सडकमा
कराउने भेडा
एक गाँस मीठो घाँस खान पाए सिँह बन्छ
भीडमाझ आफूलाई उभ्याउन पाए
कुनै अमुक अवतार नरसिँह सम्झन्छ

महाशय !
यहाँ नै भन्नुहोस
मेरो देशका यी भेडाहरूमा
कहिले बुध्दि आउला ?
मेरो देशले यी भेडाहरूबाट
कहिले मुक्ति पाउला ?
०००

प्रतिक्रिया दिनुहोस्